शुक्रबार, बैशाख १४, २०८१

सेना परिचालन सम्वन्धि विधेयक यथाशीघ्र फिर्ता गर्न माग

काठमाडौं चैत ४ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्री मातहत ल्याउने गरी ल्याइएको विधेयक यथाशीघ्र फिर्ता लिन सरकारसंग माग गरेको छ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गर्नुभएको उक्त विज्ञप्तिमा संविधानको व्यवस्था विपरित राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनाको भूमिकालाई अबमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसका साथ ल्याइएको विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी विधेयक ल्याउन नेपाल सरकारसँग माग गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपाली नागरिकद्वारा गरिएका विगतका विभिन्न आन्दोलन र शहिदको बलिदान मार्फत प्राप्त नेपालको संविधानको धारा २६७ को उपधारा ९१० अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेनाको संगठन निर्माण भएको उहाले सरकारलाई स्मरण समेत गराउनु भएको छ । विज्ञप्तिमा राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले गम्भीर प्रश्न जन्माएको उल्लेख गरिएको छ।

संसदीय दलका नेता बालकृष्ण खाँणको हस्ताक्षर रहेको विज्ञप्तिमा विधेयकमा नेपालको संविधान प्रतिकुल हुने गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको भन्दै कांग्रेसले संवैधानिक व्यवस्था अनुकूल हुने गरी विधेयक ल्याउन समेत माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।