शुक्रबार, बैशाख ७, २०८१

सुवर्णलता’ विमोचित

  काठमाडौं माघ ९, युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित सुवर्णलता सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ गीता केशरीले विमोचन गर्नु भएको हो ।

उपन्यासको वारेमा बोल्दै सरुभक्तले नारी प्रधान भएर लेखिएको उपन्यासको संख्या थोरै रहेको अवस्थामा यस्ता पुस्तकले नेपाली साहित्यको भण्डार भर्ने विश्वास गर्नु भयो । उपन्यासले नेपाली नारीको वर्तमान र विगतलाई बहुतै मार्मिक तवरबाट ब्याख्या गरेको बताउनु भयो ।  पुस्तकका बारेमा बोल्दै गीता केशरीले उपन्यासले बुद्ध र बौद्ध दर्शनलाई लेखकले कथात्मक तवरबाट देखाएको बिचार राख्नुभयो । यस्ता उपन्यासले समाजलाई नयाँ र सुनौलो गन्तब्यतर्फ लैजाने विश्वास गर्नुभयो ।

उपन्यासमा जीवनको भोगाई, आकांक्षा र पीडा देखाइएको छ । उपन्यासमा बुद्धकालिन र वर्तमान समयमा नारीको सामाजिक र पारिवारिक अवस्थालाई तुलना गरिएको छ । साङग्रीला पुस्तक प्रा.लि.ले प्रकाशित गरेको उपन्यासका वीसवटा खण्ड छन् । २७१ पृष्ठको उपन्यासको मूल्य रु.३७५ छ ।  उपन्यासकार केशरीको यसअघि पुनरुत्थान उपन्यास प्रकाशित छ । जसमा माओवादीले १० वर्ष चलाएको संशस्त्र द्वन्द्वमा राज्य पक्ष र सशस्त्र विद्रोही पक्षद्वारा उत्पीडनमा परेका नेपाली जनताको यथार्थ चित्रण गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।