बिहिबार, चैत्र १५, २०८०

सरकार र सिके राउतवीचको सहमति र सत्तारूढ नेकपाभित्र बढ्दो असन्तुष्टि

काठमाडौं  फागुन २८,    सहमति उल्लंघनको विषयलाई लिएर सत्तारूढ नेकपाभित्र असन्तुष्टि बढेको छ। यसलाई लिएर नेकपाको प्रदेश नम्बर २ नेताहरू रुष्ट छन्। ‘मूलधारको राजनीतिमा आउने, नेपालको अखण्डता, सार्वभौमसत्ता स्विकार्ने, संविधानअनुसार अघि बढ्ने भन्ने सहमतिको हामीले स्वागत गरेका थियौं,’ नेकपाको प्रदेश २ का इञ्चार्ज तथा स्थायी समिति सदस्य सत्यनारायण मण्डलले कान्तिपुरसँग भने, ‘तर सहमतिको मसी नसुक्दै जनकपुरमा आपत्तिजनक प्रदर्शन गरियो।’

राउत समूहको मुख्य गतिविधि प्रदेश २ मै केन्द्रित छ। मण्डलले राउतका गतिविधिमाथि आफूहरूले पनि नजिकबाट नियालिरहेको उल्लेख गर्दै पछिल्लो घटनाले भने शंका उब्जाएको बताए। ‘नेपालको संविधानबमोजिम फ्रि मधेस, फ्रि पहाड कसैले भन्दै हिँड्न मिल्दैन। त्यो भन्नु राष्ट्रघात हो,’ उनले भने, ‘यस्ता गतिविधि जारी रहे भागिदार नेपाल सरकार पनि बन्नुपर्छ। कुनै पनि हालतमा यस्ता घटना दोहोरिनु हुँदैन।’ उनले यस्ता गतिविधि दोहोरिए आफ्ना कार्यकर्ताले सहन नसक्ने चेतावनी दिए।

संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ को सरकारले पनि राउतलाई सहमतिविपरीतका गतिविधि नगर्न चेतावनी दिइसकेको छ। नेकपाले पनि यस्ता गतिविधि गरे राज्यले नियन्त्रण गर्नुपर्नेमा धारणा बनाएको छ। यसबारे पार्टी केन्द्रमा पनि नियमित ब्रिफिङ गरिने भएको छ। ‘संविधानको प्रतिकूल र सहमतिभन्दा विपरीत ढंगका गतिविधिमा विशेष निगरानी गर्नुपर्छ,’ पूर्वसांसद समेत रहेका प्राध्यापक लालबाबु यादवले भने। राजनीतिक दलले साझा धारणा बनाएर यस्ता गतिवधि हुन नदिन भूमिका खेल्नुपर्ने उनको सुझाव छ। सहमतिमा हुँदै नभएको जनमतसंग्रहको विषय अघि सारेर राउत समूहले स्थितिलाई फरक ढंगले लैजाने खोजेकाले बेलैमा सचेत हुनुपर्ने यादवले सुझाए।

सहमतिको विषयमा नेकपाको केन्द्रमै पनि नेताहरू विभाजित छन्। नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले सार्वजनिक रूपमै सहमतिप्रति आशंका गरेका छन्। सहमतिबाट राउतजस्ता समूहलाई खेल्ने वातावरण पैदा भएको उनीहरूको बुझाइ छ। अन्य नेताहरूले भने यो विषयमा मुख खोलेका छैनन्।

अखण्डतामा जनमतसंग्रह हुँदैन : प्रधानमन्त्री : प्रधानमन्त्री ओलीले राष्ट्रियता र मुलुकको अखण्डताका विषयमा जनमतसंग्रह हुन नसक्ने बताएका छन्। पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको उनले टिप्पणी गरेका छन्। पृथकतावाद सानो भए पनि घातक हुन्छ। यसलाई सरकारले महत्त्व दिएरै निस्तेज पारेको हो,’ राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमतसंग्रह हुनेबारे सोच्न पनि हुँदैन।’

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने गतिविधि सरकारलाई मान्य नहुने बताए। उनले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाप्रति संकेत गर्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिए। ‘देशको शान्तिसुरक्षा र अमनचयन खल्बल्याउने गतिविधि सरकारलाई मान्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवैलाई निस्तेज पारिन्छ।’

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय हित एवं सुरक्षाका नीतिहरू नयाँ स्तरमा र परिमार्जनका साथ अगाडि बढाउन आवश्यक रहेको बताए। ‘सुरक्षा वातावरणको विश्लेषण, दीर्घकालीन सोच र लक्ष्य निर्धारण, राष्ट्रिय मूल्यमान्यता र राष्ट्रिय हितका विषयमा वस्तुपरक भएर निष्कर्षमा पुग्नुपर्छ,’ उनले भने। उनले राष्ट्रिय सुरक्षा नीति, २०७५ को मस्यौदालाई अनुमोदन गरी चाँडै सरकारलाई सिफारिस गर्ने र त्यसैका आधारमा सुरक्षासम्बन्धी विशेष नीतिहरू तयार गर्ने जानकारी दिए। कान्तिपुरबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।