बिहिबार, चैत्र १५, २०८०

सरकारले संविधानको मर्म विपरित पत्रकार पक्राउ गर्न मिल्दैन : पूर्व महासंघ अध्यक्ष गाउँले

 काठमाडौं मंसिर १७ ,नेपाल पत्रकार महासंघले आसन्न निर्वाचन र पत्रकार सुरक्षा विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।  सञ्चारग्रामस्थित महासंघको सभाकक्षमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शिव गाँउलेले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार संविधानले दिएको भन्दै विचार राखेको आधारमा राज्यले पत्रकारलाई पक्राउ गर्न र थुन्न नमिल्ने बताउनुभयो । उहाँले शंकाको भरमा सरकारले आठ जना पत्रकारलाई पक्राउ गरि हिरासतमा राखेको भन्दै त्यस विरुद्ध अदालतमा जान महासंघको नेतृत्वलाई सुझाव दिनुभएको थियो । पत्रकारले पत्रकार आचारसंहिता पालना गरेको खण्डमा पत्रकारमाथिका असुरक्षामा कमी हुने उहाँको भनाइ रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले राज्यका तर्फबाट पत्रकारलाई गिरफ्तार गर्ने काम भइरहेको भन्दै त्यसका विरुद्ध सबै एक भएर अघि बढ्ने बताउनुभएको थियो भने  क्रान्तिकारी पत्रकार संगठन, नेपाल का अध्यक्ष प्रभात चलाउनेले पत्रकारलाई पक्राउ गरेर संविधानले दिएको अधिकारलाई सरकारले उल्लङ्न गरेको आरोप लगाउनुभयो । उहाँले पक्राउ गरेका पत्रकारलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनालले पत्रकारले पत्रकार आचारसंहिता पालना गरेमा पत्रकारमाथिको असुरक्षा घटदै जाने बताउनु भयो ।   नेपाल टेलिभिजनका पत्रकार मनोहरी थापाले राजनीतिक दल विशेषको पक्षमा पनि पत्रकार लागेकाले पत्रकार असुरक्षा बढेको बताउनुभयो । उहाँले पत्रकार सुरक्षामा थप चासो दिन महासंघलाई आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।