शुक्रबार, चैत्र १६, २०८०

सरकारमा सहभागीभएसंगै फोरम पनि नेकपामा विलय हुने तयारीमा

  काठमाडौं जेठ २१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार नेकपा र फोरम नेपालबीच पार्टी एकताका लागि छलफल भए पनि त्यसले औपचारिकता पाउन सकेको छैन । शीर्ष नेताहरूबीच पार्टी एकताका लागि छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रूपमा नआएको स्रोतको दाबी छ ।

उता, नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए । नेता पौडेलले नेकपा र फोरम नेपालका शीर्ष नेताबीच सरकारमा सहभागिता विषयमा हस्ताक्षर हुँदै गर्दा पार्टी एकता लागि अनौपचारिक छलफल भएको बताए ।  ‘दुवै पार्टीका शीर्ष नेताहरूबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो,’ पौडेलले भने, ‘नेकपाका नेताले फोरम नेतालाई सरकारमा मात्रै किन सहभागी हुने, पार्टी एकता नै गरौं भन्ने प्रस्ताव राखेका थिए । दुई पार्टीका शीर्ष नेतृत्वबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भए पनि त्यसले औपचारिकता पाउन नसकेको उनको भनाइ थियो ।

फोरम नेपाल राजनीतिक समितिका सदस्य प्रमोद गुप्ताले दुवै पार्टीबीच केही विषय मिलेका कारण आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए । उनले नेकपाले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेको र संविधान संशोधनपछि पार्टी एकता हुन सक्ने बताए । ‘नेकपाले संविधान संशोधनमा लिखित प्रतिबद्धता गरेकै कारण फोरम नेपाल सरकारमा सहभागी भएको हो, अहिले हाम्रो प्रमुख माग नै संशोधन भएकाले पहिला संशोधन हुनुपर्छ,’ गुप्ताले भने, ‘दुवै पार्टीबीच धेरै कुरा मिल्ने भएकाले सिद्धान्त, विचार, नीति तथा कार्यक्रममा सहमति भए पार्टी एकता हुन सक्छ ।’

फोरम नेता गुप्ताले दुवै पार्टीमा कम्युनिस्टहरू भएको र दुवै पार्टीबीच आर्थिक क्रान्ति गर्दै समाजवाद स्थापना गर्ने प्रमुख दायित्व भएकाले राजनीतिमा असम्भव केही नभएको बताए । फोरमले उठाउँदै आएको मुद्दाका साथै सिद्धान्त, विचार एवं नीति तथा कार्यक्रम मिल्ने पार्टीसँग एकता हुन सक्ने गुप्ताले बताए । फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् । फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालीन नेकपा एमाले हुँदै नेकपा माओवादी राजनीतिमा सक्रिय थिए ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल ९गैरसरकारी संस्था० गठन गरेर मधेस आन्दोलनमार्फत चर्चामा आएका फोरम नेपालका अध्यक्ष यादव नेतृत्वको पार्टीमा अहिले तत्कालीन एमालेमा रहेका जनजाति समुदायका नेताको बाहुल्य छ । एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी गठन गरेका जनजाति समुदायका नेताको नेतृत्व गर्ने अशोक राईलगायतका नेता अहिले फोरम नेपालमा निर्णायक नेतृत्वमा छन् ।  फोरम अध्यक्ष यादव आफंै कम्युनिस्ट हुन् र फोरममा पूर्वएमालेका कम्युनिस्ट नेताहरूको निर्णायक सहभागिता हुनुले फोरम र नेकपाबीचको पार्टी एकता सम्भव रहेको एक नेताले बताए । फोरम नेपालमा रहेका कतिपय नेता पुनः एकीकृत नेकपामै फर्किन चाहनुले पनि एकता सम्भव रहेको बताइएको छ ।

मधेसमा नेकपाको अवस्था आफैंमा कमजोर नभएको तर त्यहीँको एक बलियो पार्टीसँग एकता गरेर अगाडि बढ्दा आर्थिक क्रान्ति सफल हुने र समाजवाद स्थापनामा कुनै अवरोध नआउने विश्लेषण गर्दै नेकपा नेताहरू एकता गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र जस्तो देशकै दुई ठूला कम्युनिस्ट पार्टीका बीचमा ऐतिहासिक एकता गरेर अन्तर्राष्ट्रिय समुदायमा राम्रो सन्देश दिएका नेताहरू फोरम नेपालसँग पनि एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपासँग १७४ सिट छ भने फोरम नेपालसँग १६ र राजपा नेपालसँग १७ सिट रहेको छ ।  फोरम नेपाल सरकारमा सहभागी भएपछि सरकारसँग १९० सिट भएको छ, जुन प्रतिनिधिसभाको जम्मा संख्याको ६९ दशमलव ९ प्रतिशत हो । संघीय संसद्को प्रतिनिधिसभामा सरकारसँग दुई तिहाइ बढी संख्या पुगेको छ । राजधानीबाट