शुक्रबार, चैत्र १६, २०८०

समृद्ध मुलुकका लागि सञ्चार क्षेत्रको भूमिकालाई अझ विस्तार गर्न आवश्यक: मुख्यमन्त्री राई

१८ बुँदे विराटनगर घोषणापत्र २०७५ जारी

विराटनगर पुस ५ , नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक परिवर्तन सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै समृद्ध मुलुकका लागि सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न नसक्ने भन्दै आफ्नो संञ्चारमन्त्रीको कार्यकालमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरूको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका स्मरण गर्दै सञ्चारकर्मीका व्यावसायिक र क्षमता विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रेस स्वतन्त्रताका विषयमा सञ्चारकर्मीहरूले प्रदेश सरकारप्रति शङ्का नगर्न र आफ्नो मर्यादालाई पनि नबिर्सन सञ्चार जगतलाइ आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ संसदीय दलका नेता जयराम यादव , न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत ,प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, महासङ्घका प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल र महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पनि सञ्चार क्षेत्रलाई अझ कसिलो र बलियो बनाउनुपर्ने धारणा लगायतले नेपाली पे्रसको विगत र वर्तमानका विषयमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

यसैवीच राष्ट्रिय सम्मेलनले १८ बुँदे विराटनगर घोषणापत्र २०७५ जारी गरेको छ । यसअघि महासंघका पूर्वअध्यक्षद्दय तारानाथ दाहाल र पूर्व अध्यक्ष तथा महासंघका सल्लाहकार शिव गाउँलेले कार्यपत्र पेस गर्दै संविधान र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुनको मर्म, भावना र व्यवस्था अनुसार तीनै तहका सरकारले कानुन बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।