बिहिबार, बैशाख १३, २०८१

समाचारका विषयलाई लिएर सामाजिक सञ्जाल र टेलिफोनबाट धम्की दिनेहरूलाइ कारबाही गर्न माग

सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर सामाजिक सञ्जालहरूमा असभ्य र पत्रकारको मानमर्दन गर्नेगरी प्रतिक्रिया अभिव्यक्त नर्गन महासंघको आग्रह

नागरिकको जान्न पाउने अधिकारको सम्मान गर्न महासंघको अपिल

काठमाडौं जेठ ६, नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर सामाजिक सञ्जालहरूमा असभ्य र पत्रकारको मानमर्दन गर्नेगरी प्रतिक्रिया आउने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका कावा महासचिव  प्रकाश थापाद्दारा आज जारी विज्ञप्तिमा  महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झाले कान्तिपुर दैनिकमा वैशाख ३१ गते ‘अदालतका कर्मचारी शंकाको घेरामा’ शीर्षकमा प्रकाशित समाचारलाई फेसबुक मार्फत शेयर गरेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालीन प्रशासकीय अधिकृत रोहित भट्टराईले अश्लील शब्द प्रयोग गरी पत्रकार झालाई फेसबुकमार्फत गालीगलौज गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकारले लेखेको समाचारप्रति चित्त नबुझेमा त्यसको निरुपण गर्ने उपाय  हुँदाहुँदै सार्वजनिक रूपमा गालीगलौज गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरोकारवाला सबैका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू समेतलाई महासंघले आग्रह गर्दै दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएका महासंघका केन्द्रीय सदस्य झाले आफूमाथि भएको गालीगलौजका विरुद्ध न्यायिक निरुपणका लागि प्रक्रिया अगाडि बढाउनु भएको कदममा महासंघ साथसाथै रहेको व्यहोरा जनाएको छ ।

झाले न्यायिक निरुपणका लागि प्रक्रिया अगाडि बढाइसकेपछि पनि विभिन्न नम्बरबाट फोन गरी धम्क्याउने, मानसिक तनाव दिने कार्य भैरहेको   कार्यको भत्र्सना गर्दै  टेलिफोनबाट धम्की दिनेहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यावहारिकरूपमा प्रतिवद्ध बन्न, नागरिकको जान्न पाउने अधिकारको सम्मान गर्न महासंघ सबैमा अपिल गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।