बिहिबार, चैत्र १५, २०८०

लेखाअधिकृतमाथि हातपात गरेकोमा मेयरले स्विकारे गल्ती

  • धर्मेन्द्र कुमार यादव

 महोत्तरी असोज २०, गत असोज १० गते बुधबार अपरान्ह भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले आफ्नै कार्यालयका लेखाअधिकृत पवनकुमार अधिकारीलाई हातपात गरेकोमा शुक्रबार दुबै पक्ष बीच भएको सम्झौतामा मेयरले गल्ती स्विकार गर्दै अब यस्तो कार्य नदोहोरिने लिखित प्रतिबद्धता अभिव्यक्त गरेका छन । जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंह र लेखा अधिकृत अधिकारीको रोहवर तथा मेयर साह र निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन महोत्तरी बीच भएको छलफलमा १० बुंदे लिखित सम्झौता भएको हो ।

सम्झौता पत्रमा उक्त घटनाको जिम्मेवारी नगर प्रमुखले लिएको, निजामति कर्मचारीलाई सम्मान गरिने र नगरपालिका उक्त कुरामा प्रतिबद्ध रहने, घटनालाई राजनितिक आवरण नदिईने, आफु खुशी यस विषयमा गलत मिडियाबाजी नगर्ने, कर्मचारीलाई सुरक्षित कार्य गर्न नगरपालिकाले वातावरण मिलाउने, सामाजिक मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्ने, दुर संवेदन प्रणालीवाट कर्मचारी उपर निगरानी राखिने, त्रसित वातावरण निर्माण नगरिने सम्झौतामा लिखित रुपमा उल्लेख गरिएको छ ।

त्यस्तै मेयर शाहले घटना प्रति दुःख व्यक्त गर्दै आफ्नो व्यक्तिगत व्यावहारले कुनै कर्मचारीको स्वाभिमान र आत्म सम्मान उपर ठेस पुगेको भए सो को लागि आत्मग्लानी भएको महसुस गर्दै यस उपरान्त यस्तो व्यावहार नदेखाउने प्रतिवद्धता जाहिर गरेका छन् । यता सेवा प्रवाहका वखत कर्मचारीहरुको व्यावहारबाट गलत वातावरण श्रृजना भएको भए त्यसको जिम्मेवारी लिदै सेवा प्रवाहलाई थप शसक्त र प्रभावकारी सेवा प्रवाहको लागि आधिकारिक ट्रेड युनियन महोत्तरी प्रतिवद्ध रहेकको सम्झौतामा उल्लेख गरिएको छ । साथै यसअघि आँखामा कालोपट्टी बाँधेर बिरोध तथा पेन डाउनलगायतको आन्दोलनका कार्यक्रममहरु फिर्तासमेत लिइएको सम्झौतामा ट्रेड युनियनले हस्ताक्षर गरेको छ । त्यस्तै पीडित लेखापाल अधिकारीले समेत सार्वजनिक मुद्दा फिर्ता लिने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।