बिहिबार, बैशाख ६, २०८१

रोशनको ‘चाँदनी’ विमोचित

काठमाडौ असोज १ ,  वरिष्ठ गजलकार डा.कृष्णहरि बरालले युवा गजलकार मार्मिक रोशनद्वारा लिखित ‘चाँदनी’ गजल संग्रहको भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच विमोचन गर्दै लोककथाहरूको सन्दर्भ गजलमा ल्याएर नयाँ सन्दर्भमा गरिएको प्रयोग आफैमा प्रशंसनीय रहेको बताउँनु भएको छ ।  त्यस्तै उहाँले कविताको समालोचना अर्कैले गरिदिनुपर्ने, उपन्यासको समालोचना अर्कैले गरिदिनुपर्ने तर, गजलको समालोचक आफैं नै हुने बताउँदै गर्दा  गजलकार रोशनले भने आफ्नो यस संग्रहमा व्यङ्ग्य र प्रेमका गजलहरु मिठास रुपमा भावलाई पगालेर लेखेको वताए ।  कार्यक्रममा उपस्थित स्रष्टाहरूले आ–आफ्नो रचना वाचन गरेका थिए ।

यस्तो छ रोशनको गजल संग्रहबाट लिइएका केही लाइनहरू :

के बनाउछौं सरकार यो देश तिमीले
तिमीभन्दा राम्रो बरू कमिलाले बनाउँछन् ।।
उसका जीवनमा त धेरै भोगाइहरू छन्
र त आफ्ना गजलहरू चोटिलो बनाउँछन् ।।
यता सडकहरू भत्किन्छन्, जिर्ण हुन्छन्
उता मन्त्रीहरुको घरमा तला थपिन्छन् ।।
घरी आएको हुन्छ, घरी नआएको हुन्छ
जसरी पनि तिम्रो यादले सताएको हुन्छ ।।
हिजो खरायोसँग दौड जितेपछि
आज चरालाई जित्न कछुवा निस्कियो ।।
यौटा गरिब आङ ढाक्न दगुर्छ
सुनेर कालो झण्डा फालाफाल छ ।।
उता कहाँ कहाँ खोजेनन् विश्वलाई
यता सहिदको मुटुमा जगत भेटियो ।।
देख्ने कुरा केवल आँखाले देख्यो
आफू हिड्ने बाटो पैतालाले देखेनन् ।।
सानो छोरोले आज किसानलाई भन्यो
म ठूलो भएर एउटा नहर बनाउँछु ।।
जीवन के हो कसलाई कसलाई सोध्छौ ?
मलामी जाऊ चित बनाऊ पत्ता लाग्छ ।।
खुकुरी अगाडी पनि ऊ छाती थापिरहन्छ
मलाई अचानो सारै बहादुर जस्तो लाग्छ ।।
झुपडीमा एकै छाक पकाइदिन पनि
बडो मुस्किल भैदियो चुलोका लागि ।।
तिमी अध्ययन गर आजकालको यो दुनियाँ
घाउ बनाइदिन्छ अनि मलम देखाउछ ।।