शनिबार, बैशाख ८, २०८१

रु दश लाख १८ हजार रकम दुरुपयोग गर्ने प्रअ खाँ विरुद्ध मुद्दा दायर

काठमाडौ माघ २०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता माध्यमिक विद्यालय, सिराहाका प्रधानाध्यापक मो सनाउल्लाह खाँले रु दश लाख १८ हजार ६७० बराबरको रकम भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा विद्यालयको भवन निर्माणको कार्य प्राविधिक लगतअनुसार नगरेको, छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण नगरेको, आर्थिक वर्ष २०६७/०६८ को पुरानो शौचालय हालसम्म पनि निर्माण नगरेको तथा निर्माण र अन्य मर्मतसम्भार जस्ता धेरै कार्यमा आर्थिक हिनामिना गरेको भन्ने उजुरीको अध्ययन गर्दा भ्रष्टाचार भएको पाइएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले विद्यालयको भवन निर्माणको लागि विनियोजित रकम र विद्यालयको आन्तरिक स्रोतको काम नै नगरी खर्च देखाइ निर्माण बजेट र आन्तरिक स्रोतसमेत दुरुपयोग गरेको आयोगले ठहर  गर्दै    मुद्दा दायर गरेको जनाएको छ ।

यसैवीच मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अपुताली जग्गा नामसारीका लागि मुचुल्का तयार गर्ने काम सम्पादन गरेवापत सेवाग्राीसंग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट आयोगको कार्यालय बर्दिबासले शनिवार पक्राउ गरेको हो ।

निज कार्कीलाइ अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । पक्राउ परेका नासु कार्की उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १७ का स्थायी बासिन्दा हुन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।