मङ्लबार, बैशाख ४, २०८१

राष्ट्रपति भण्डारीको राजसी प्रवृत्तिको सर्वत्र आलोचना

काठमाडौं  कार्तिक ६, राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नै फेसबुक वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रकनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्णी गरेका छन् । उनले लेखेका छन्, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ! !’ पूर्वप्रधानन्यायाधीश पराजुलीले नै दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।

थापाले अगाडि लेखेका छन्, ‘चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त डा. भेषराज अधिकारी स्वकीय सचिव ! ! ! अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादसैंंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक भएन।’

थापाले प्रश्न गरेका छन्– आजीवन हसिया हथौडा अंकित झन्डामुनि क्रियाशील, नेपाली महिला सशक्तीकरण आन्दोलनकी प्रेरणादायी नेत्री, जननेता मदन भण्डारीकी जीवनसंगिनी र कम्युनिस्ट पार्टीबाट निर्वाचित राष्ट्रपतिलाई यसरी विवादमा तान्ने परम्पराको अभ्यास गराउने को हो ? उनले नागरिक हैसियतको यसरी हुर्मत लिने गरी राष्ट्रप्रमुखलाई विवादित बनाउने रबैया मान्य हुननसक्ने उल्लेख गरेका छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै तहका जनप्रतिनिधिले आफू जनताको निगरानीमा रहेको हेक्का राख्नुपर्ने पनि फेसबुक वालमा लेखेका छन्।  यसैगरी विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि ट्विटरमार्फत राष्ट्रपति भण्डारीले पूर्वप्रधानन्यायाधीश पराजुली र पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीलाई टीका लगाइदिँदै गरेको तस्बिर सार्वजनिक गर्दै त्यहाँ देखिएको राजसी प्रवृत्तिको आलोचना गरेका छन् । उनले ट्विट गरेका छन्, ‘दुखी प्रजा र सुखी राजाका कुराः हाम्रो मन र मत बदलिएपछि यो अवस्था आफैं बदलिनेछ । त्यसका लागि अब धेरै वर्ष पर्खिनुपर्दैन होला । अन्यथा प्रमुख दलहरूबाट दशकौंदेखि भोग्दै आएको आडम्बरी–सामन्ती समाजवाद एक या अर्को रूपमा प्रकट भई नै रहनेछ । जनता ‘दुखी प्रजा’ र नेता ‘सुखी राजा’ भइरहने छन्।’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नो ट्विट पेजमा राख्दै लेखेका छन्, ‘माक्र्स जीवित छँदै उनको नाममा गलत हर्कत गर्नेलाई भनेका थिए, इफ दिस इज माक्र्सिज्म आइएम नो माक्र्सिस्ट, अहिले नेपालको कम्युनिस्ट सरकारलाई माक्र्सले हेरिरहेका भए भनलान, इफ दिस इज कम्युनिज्म, आइएम नो कम्युनिस्ट।’  राजनीतिक विश्लेषक विष्णु सापकोटा राष्ट्रपतिको टीका लगाइदिने शैलीलाई लोकतन्त्रप्रतिको व्यंग्य भन्छन् । ‘यो शासक हटाएर आफैं शासक बन्ने निम्नस्तरको प्रवृत्ति हो,’ सापकोटाले भने । सापकोटा राजनीतिक नेतृत्वमा हाल देखिइरहेको प्रवृत्तिले विगतमा गरिएका लडाइ जनताका लागि भन्दा पनि नेताका लागि मात्र भएको पुष्टि हुने बताउँछन् । ‘राजनीतिक नेतृत्वमा अहिले जुन किसिमको मानसिकता देखिँदैछ त्यसले त आफू सत्तामा पुग्नका लागि मात्र सत्ताको विरोध गरेको देखियो,’ उनले भने । सापकोटाले राष्ट्रप्रमुखमा पुरानै सामन्ती प्रवृत्ति देखिएको बताए । ‘अहिले जे जस्ता तस्बिरहरु सार्वजनिक भएका छन् ती उहाँ (राष्ट्रपति) लाई थाहा नभएर गरिएका होइनन्, यो त जानीजानी जनतालाई हेपेको हो,’ उनले भने । उनी सत्तामा पुग्नेहरुमा हामी शासक हौं भन्ने प्रवृत्ति हाबी हुँदा यस्तो समस्या भइरहेको बताउँछन्।

पत्रकार विजयकुमार पाण्डेले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीशलाई टीका लगाइदिएको उक्त तस्बिर रिट्विट गर्दै लेखेका छन्, ‘यी सज्जनले जे गरे सो गरे । गोर्कीले भनेका छन्– घस्रन जन्मेको मान्छे उडन सक्दैन । तर सम्माननीय राष्ट्रपतिबाट पनि यी सज्जनलाई, यो धनुष्टंकार मुद्रामा नबस्न आदेश हुनुपर्ने थियो । यी सज्जनले राष्ट्रपति पदको मान होइन नेपाली गणतन्त्रको अपमान गर्दैछन् भनेर बुझिनुपर्छ। नागरिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।