शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिले संविधानसभा बैठक आह्वान गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर

suprim-cort काठमाडौँ पौष १३, राष्ट्राध्यक्षलाई उपेक्षा गरी बैठक बोलाउने अन्तिम तयारी गर्न लागेको कुरा सार्वजनिक भएको भन्दै डेमोक्र्याटिक लयर्स एसोसिएसनका सदस्य विश्वास आचार्यले  राष्ट्रपतिले नै संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नुपर्ने मागसहित हिजो सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको  छ ।

 अन्तरिम संविधानको धारा ५१(१)मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा समय समयमा संसद्को बैठक आह्वान गर्ने र ५१(२) मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसद्को अधिवेशन अन्त गर्ने उल्लेख गरिएको तथा धारा ६९(१)मा संविधानसभा सदस्यको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको २१ दिनभित्र प्रधानमन्त्रीले आह्वान गरेबमोजिम संविधानसभाको पहिलो बैठक बस्ने व्यवस्था भएको भन्दै राष्ट्रपति नै राष्ट्राध्यक्ष रहेकाले उहाँले नै संविधानसभा पनि बैठक बोलाउनुपर्ने माग निवेदनमा गरिएको छ । संविधान संशोधनका क्रममा राष्ट्रपतिले बैठक बोलाउने व्यवस्था गर्न छुट भएको निवेदनमा जनाइएको छ ।

रिट निवेदक आचार्यले मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्का अध्यक्ष र सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्रीलाई विपक्षी बनाई दायर गर्नु भएको रिटमा संविधानसभा बैठक बोलाउने निर्णय, त्यसपछि गरिएका आदेश, पत्राचारलगायत कार्य नगर्न नगराउन परमादेशको आदेश जारी गर्न तथा राष्ट्रपतिबाटै संविधानसभा बैठक बोलाउने गरी परमादेशको आदेश जारी गर्न माग गरिएको छ ।