मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ बजेट सक्ने मेलो..

काठमाडौं असार १९ , बर्खा लागेपछि जिल्लाका विकासे कार्यालय र स्थानीय तहले धमाधम विकासका काम अघि बढाएका छन्। निर्माण व्यवसायीमाथि सरकारले निगरानी बढाएपछि विकासे कार्यालयअन्तर्गत ठेक्कामा लागेका आयोजनाको काम धमाधम हुन थालेको छ। नियमनकारी निकायले निर्माण व्यवसायीलाई दोष देखाउने र व्यवसायीले सामग्री अभावलगायत कारण देखाउँदा विकास निर्माण समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै गएको छ। सरकारले तोकिएको समयमा काम नसक्ने निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएपछि केही व्यवसायीले कामलाई निरन्तरता दिएको जानकारी सम्बन्धित कार्यालयले दिएका छन्।

जिल्ला प्रशासन कार्यालय, इलामले केही साताअघि अधुरा आयोजना, ठेक्का लिएका कम्पनी र तिनका प्रतिनिधिको नामसहितको विवरण गृह मन्त्रालयमा पठाएको थियो। उन्नति परियोजनाअन्तर्गत जिल्ला प्राविधिक कार्यालयको प्राविधिक रेखदेखमा भइरहेको सडक निर्माण सुस्त गतिमा थियो। फिक्कल–नयाँबजार सडक स्तरोन्नतिको काम यही असार मसान्तसम्म सक्नुपर्ने हो तर, अहिलेसम्म ५५ प्रतिशत मात्रै काम भएको प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगानाले बताए।

हिउँदमा सुस्ताएको काम जेठ र असार लागेपछि धमाधम भइरहेको छ। यही परियोजनाका ५ सडकको काम अहिले जिल्लामा धमाधम भइरहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार साबिक माइमझुवा गाविस–७ र माबु–२ बीचको माइखोलामा निर्माणाधीन पक्की पुलको काम धमाधम भइरहेको छ । १ करोड ७० लाख ५५ हजार रुपैयाँमा ठेक्का लागेको सो पुल सेप्टेम्बर २०१७ मै सक्नेगरी पहिलोपटक सम्झौता भएको थियो । तर, पटक–पटक गरी तेस्रो पटक थपिएको म्याद पनि गत मेमा सकिएको छ। ‘यो पुलको काम अहिले धमाधम छ,’ ढुंगानाले भने, ‘असार मसान्तभित्र तोकिएको डिजाइन सबै त सकिँदैन तर, ढलाइसम्म हुन्छ।’

तेस्रोपटक म्याद थपेर जुलाई २०१८ मा काम सक्नेगरी ठेक्का सम्झौता भएको देउमाई खोला पक्की पुलको काम पनि अहिले धमाधम अघि बढाइएको छ। गजुरमुखी÷सफल बिल्डर्सले २ करोड ३४ लाख रुपैयाँमा सो पुलको काम ठेक्का लिएको हो। निर्माणस्थल र पुलको डिजाइन नै परिवर्तन गरेकाले तोकिएको म्यादमा पुल नसकिने भएको कार्यालयले जनाएको छ। ‘परिवर्तन भएको पुलको डिजाइन हामीले समयमै ठेकेदारलाई बुझाएका हौं,’ उनले भने, ‘तर, समयमा काम हुन सकेन, अहिले धमाधम छ।’  दुधाङ–नयाँबजार सडक, गाग्रेभञ्ज्याङ–जितपुर–नवमी–बेलासे सडक, नामथला–बेलासे–शुक्रबारेको ५ किमी सडक, फिक्कल–नयाँबजार सडक, पाल्टाँगे–सिद्धिगाउँ सडक, जितपुर–नवमी सडक र देउराली–फलाँटे सडकको काम पनि अहिले धमाधम भइरहेको सो कार्यालयले जनाएको छ। ‘कतिपय स्थानमा केही समस्या छन् तर, बेलामा काम नहुनुको मुख्य कारण ठेकेदारको लापरबाही नै देखिन्छ,’ इन्जिनियर ढुंगानाले भने, ‘भनेका बेला निर्माण सुरु नगर्ने, उपकरण उपलब्ध नगराउनेजस्ता कारणले निर्माण गति हिउँदमा सुस्त हुन्छ र असार लागेपछि धमाधम हुन्छ।’

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पनि अहिले धमाधम सडक निर्माणलगायत कामलाई तीव्रता दिएको छ। कतिपय म्याद गइसकेका आयोजनाको कामलाई पनि तीव्रता दिएको कार्यालयले जनाएको छ। ताप्लेजुङका आङ्खोप र खोक्लिङ, पाँचथरका आङसराङ र एकतीन, इलामका इभाङ र सोयाङ स्वास्थ्य चौकी तथा जमुनाको आयुर्वेद औषधालय भवन निर्माण धमाधम भइहेको छ। डिभिजनअन्तर्गत झापाका शिवसताक्षी प्राथमिक स्वास्थ्य केन्द्र, सुरुंगा, महारानीझोडाका स्वास्थ्य चौकी, कोहबरा, महेशपुरका स्वास्थ्य भवनको काम अहिले धमाधम चलिरहेको छ। कार्यालयका लेखाअधिकृत वीरबहादुर श्रेष्ठले यी आयोजना तोकिएको म्यादभित्र सिध्याउन धमाधम काम भइरहेको बताए।  जिल्ला सदरमुकाममै निर्माण थालिएको जिल्ला समन्वय समिति र प्राविधिक कार्यालय भवन निर्माण पूरा गर्ने म्याद सकिन केही महिना बाँकी छ। तर काम भने १५ प्रतिशत मात्र पूरा हुँदैछ। दी कञ्चनजंघा बौद्धले ४ करोड ३५ लाख रुपैयाँमा ठेक्का लिएको काम गत मार्च मा सक्ने सम्झौता थियो । तर, समयमा काम नभएपछि आउँदो नोभेम्बरसम्म म्याद थपिएको छ। नागरिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।