शनिबार, बैशाख ८, २०८१

महोत्तरीको सोनमाई मन्दिरमा भुत मेलाको यस्तो छ तयारी

 माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने पौरानिक विश्वास जनमानसमा रहेको छ

  • धर्मेन्द्र कुमार यादव

गौशाला असोज २४, महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भुतमेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोनमाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको चौठीदेखि सोनामाईमा लाग्ने भुतमेला यसवर्ष शनिबारबाट सुरु हुँदै छ । चौठिदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भुतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।
भुत,बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहिआएको छ ।

वर्षौदेखि भुत , पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै कसबाट सताईको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै , रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । र दरबारमा पुगेका पीडित माताको दृष्टिपरेपछि निको भई आ आफ्ना घर र्फकने गरेको पुजारी झगरु झाको भनाइ छ ।

सप्तमीदेखि बिजयादशमी सम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका बिभिन्न शहरसम्मका हजारौ महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीयहरु बताउँछन् । घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी पीडित आआफ्ना घरबाट यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट हाँस्दै जाने झाँक्रीहरुको दावी छ । सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्री  रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने पौरानिक विश्वास जनमानसमा रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।