शुक्रबार, चैत्र १६, २०८०

महासंघको स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरु सम्मानित

समृद्ध राष्ट्र निर्माणमा लाग्न पत्रकारलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको आग्रह

काठमाडौं चैत १६,   नेपाल पत्रकार महासंघले ६३औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरुलाई मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको हो । सम्मानित हुनेमा पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्छ ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सम्मानित पूर्व अध्यक्षहरुलाई बधाई दिँदै संघीय लोकतन्त्रको रक्षा र सही प्रयोगमा पत्रकारको दायित्व हुने बताउँदै प्राप्त उपलब्धीहरुलाई कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणमा लाग्न पत्रकारलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारितामा अवसर र समस्याहरु रहेको भन्दै उहाँले पत्रकारको समस्या समाधानका लागि महासंघ सधै क्रियाशिल रहने बताउनुभएको थियो ।   सम्मानितपूर्व सभापतिहरुको तर्फबाट अभिव्यक्ति दिदै पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गर्नुको अलावा पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारको आचरण सुधारमा महासंघले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

महासंघका महासचिव रमेश विष्टले महासंघले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रुपमा सशक्त भूमिका निर्वाह गर्दै बताउँदै मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गराउनुभएको थियो ।  कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो ।