शनिबार, बैशाख ८, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउदै

काठमाडौ असोज १७, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन । संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।  बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध हुन लागेको समयमा मोदी नेपाल आउन लागेका हुन् । छिमेकसँगको सम्बन्धमा जोड दिने बताउँदै आएका मोदीले आफ्नो आन्तरिक लोकप्रियताका लागि पनि नेपाल सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने अवस्था रहेकाले सुधारका पक्षमा भारतीयहरू देखिएको अधिकारीहरू बताउँछन् । त्यसका लागि भारतीय सरकारी कम्पनी सतलजको लगानी रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास उपयुक्त अवसर बन्न सक्ने उनीहरूको बुझाइ छ ।

भारतीय प्रधानमन्त्री मोदी करिब १ खर्ब १६ अर्ब लागतको ९ सय मेगावाटको अरुण तेस्रो आयोजना उद्घाटन गर्न नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीले संयुक्त रूपमा आयोजना शिलान्यास गर्ने गरी परराष्ट्र मन्त्रालय भ्रमणको तयारीमा जुटेको हो । दसैं बिदाका बेला पनि मन्त्रालय भ्रमणको तयारीमा जुटिरहेको छ । मोदीको भ्रमणको तिथि तय गर्नेबारे सोमबार सम्बन्धित निकायहरूबीच छलफल चलेको थियो ।  भारतीय प्रधानमन्त्रीले आयोजना अघि बढाउन चासो देखाएपछि प्रक्रिया द्रुत गतिमा अघि बढेको अधिकारीहरू बताउँछन् । आयोजनाको शिलान्यास भारत र नेपालका कार्यकारी प्रमुखले संयुक्त रूपमा गर्ने सहमति प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नै भएको हो ।

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्रीको भ्रमणको तिथि टुंगो लगाउने विषय अन्तिम चरणमा रहेको बताए । ‘प्रधानमन्त्री मोदीको भ्रमण जतिसक्दो छिटो हुनेमा दुई मत छैन, तिथि एक र दुई दिनमा तय हुनेछ । यसमा गृहकार्य भइरहेको छ,’ राजदूत उपाध्यायलाइ उदृत गर्दै आजको कान्तिपुर दैनिकमा खवर प्रकाशित रहेको छ ।  प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएको संयुक्त वक्तव्यमा नै मोदीको नेपाल भ्रमण हुने विषय उल्लेख छ । बहुचर्चित परियोजना पञ्चेश्वरको टुंगो पनि एक महिनाभित्र सक्ने सहमति भएअनुरूप काम अघि बढेको थियो । मोदीले असोज अन्तिम वा कात्तिक सुरुमै भ्रमण गर्ने गरी छलफल भइरहेको अधिकारीले जनाए ।