बिहिबार, बैशाख ६, २०८१

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४ ,  उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् ।

आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं.१ कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन देशसँगको व्यापार सम्बन्ध गाँसिएको बिर्तामोडलाई अब सँधैका लागि बन्द हड्ताल मुक्त गराउन लागीपर्ने प्रतिबद्धता जनाएका छन् । बन्द हड्तालले उद्योग व्यवसायमा ठूलो क्षति पु¥याइरहेको र समृद्धिका लागि आर्थिक क्रान्ति जरुरी रहेको भन्दै उनीहरुले बन्द हड्ताल मुक्त गराउन अग्रसर बन्ने बताएका हुन् ।

त्यस्तै बिर्तामोडको सुरक्षा लगायतको आवश्यक व्यवस्था मिलाई साँझमै बन्द हुँदै आएको बिर्तामोडलाई केही अवेरसम्म सञ्चालनको प्रबन्ध मिलाउन पहल गर्ने समेत उनीहरुले बताएका छन् ।

बिर्तामोडलाई बन्दमुक्त तथा भरपर्दो सुरक्षासहित रातिसम्म व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाउन स्थानीय सरकार बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराई नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने समेत उनीहरुको प्रतिबद्धता छ । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्का, सशस्त्र प्रहरी बल अर्जुनधाराका प्रमुख प्रदीप सिंह कार्कीले बन्दमुक्त अभियाानका लागि सरोकारवालासँग समन्वय गरी अग्रसर हुने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।