मङ्लबार, बैशाख ४, २०८१

बिराटनगरमा बालमैत्री अध्ययन केन्द्र

  • साजन पासवान/बिराटनगर

बिराटनगर महानगरपालिकाले बालमैत्री स्थानीय शासन अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । बालमैत्री घोषित मुलुकको पहिलो नगरमा खोलिएको अध्ययन केन्द्र देशकै पहिलो हो । यो अध्ययन केन्द्रले बालमैत्री स्थानीय शासनसम्बन्धी जानकारी दिने विभिन्न प्रकारका दस्तावेज तथा सामाग्री राखिएको छ । केही साता अगाडि नगर प्रमुख (मेयर) भीम पराजुलीले सो अध्ययन केन्द्रको उद्घाटन गरेका थिए । बिराटनगर प्रदेश नम्बर १ को पहिलो बालमैत्री महानगर हो । साविक उपमहानगर हुँदा नै बिराटनगरलाई बालमैत्री घोषणा गरिएको थियो । स्थानीय तहको पुनर्सरचनापछि पहिलो पटक बसेको नगरसभाले यससम्बन्धी नीतिगत निर्णय गरेपछि अध्ययन केन्द्र खोलिएको हो । नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख डिल्ली धिमालकाअनुसार अध्ययन केन्द्रमा बालमैत्रीसम्बन्धी सम्पूर्ण दस्तावेज अध्ययन गर्न सकिन्छ । बिराटनगरमा २०६४ सालमा नै बालअधिकारसम्बन्धी आवधिक योजना बनेको थियो ।

नगरलाई बालमैत्री बनाउन बिगतमा गरिएका क्रियाकलापहरूको दस्तावेज पनि यस अध्ययन केन्द्रमा पाउन सकिन्छ । बिराटनगरमा बाल श्रमिक न्यूनीकरण गर्न श्रमिक बाल क्लब बनाउने अभियान पनि सुरु गरिएको थियो । स्थानीय टोल विकास संस्थाको बिशेष पहल र गैरसरकारी संस्थाको संलग्नतामा बाल श्रमिक न्यून Captureगरिएबाट बिराटनगरलाई बालमैत्री घोषणा गर्न सजिलो भएको थियो । स्थानीय तहको पुनर्संरचनापछि उपमहानगरबाट महानगरमा स्तरोन्नति भएको बिराटनगर महानगरपालिकामा साविक बुधनगर र बैजनाथपुर गाविस गाँभिएका छन् । ती गाविसहरू महानगरका वडा नम्बर १८ र १९ भएका छन् । नयाँ थपिएका वडामा बालमैत्री संरचना स्थापित गर्ने चुनौति रहेको छ । बिराटनगर महानगरपालिकामा बालमैत्री अध्ययन केन्द्र स्थापना भएपछि नगर प्रमुख पराजुलीले महानगरपालिकाले बाल अधिकारका सन्दर्भमा बिशेष अभियानहरू सन्चालन गर्ने जमर्को गरिहेको बताए । हालै नगरसभाले महानगरभित्रका दम्पत्तिले पहिलो सन्तान छोरी जन्माएमा त्यस्ता परिवारलाई तीन हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । नगरमा छोरा र छोरीको भेदभाव बढ्दै गएको सन्दर्भमा छोरी बचाउ अभियान अन्तर्गत यस्तो अभियान नगरपालिकाले थालेको हो ।
महानगरमा बाल सहभागिताको पनि बिशेष कार्य हुँदै आएको छ । नगर योजना तर्जुमा गर्नका लागि बालभेलामार्फत् अर्थपूर्ण सहभागिताको अभ्यास गर्दै आएको छ ।

 हरेक स्वास्थ्य संस्था र विद्यालय व्यबस्थापन समितिमा एक जना बालक र बालिका आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने प्रचलन छ । प्रमुख पराजुली भन्छन्, ‘बालमैत्री नगर बिराटनगरमा नमूना बाल अधिकार हुने छ । बालअधिकार हनन् हुन नदिन महानगरले बिभिन्न सकारात्मक कार्यक्रम ल्याई बाल क्लबहरूलाई सक्रिय बनाएर अन्य सामाजिक रुपान्तरणका क्रियाकलापहरू सन्चालन गर्ने गरेका छौँ ।’ बालमैत्री नगरमा बाल अधिकारलाई ख्याल गरेर नै अब नयाँ रक्सी पसल खोल्न नदिने निर्णय भएको पनि उनले बताए । पराजुलीको थप कथन छ, ‘बिराटनगरका रक्सी पसलहरू अनिवार्य रुपमा राती ९ बजे बन्द हुन्छन् र घरेलु रक्सी उत्पादन र बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।’  संयुक्त टोल संगठनका संयोजक राजेश मास्केले बालमैत्री अध्ययन केन्द्र बिराटनगरको चिनारी भएको बताउँदै यसबाट भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह हुने बताए । बालमैत्री नगरमा बाल अधिकारसम्बन्धी धेरै समस्या रहेको भएता पनि नगरपालिका र नगरबासीको प्रयत्नले ती समस्याको हल हुँदै जाने धारणा राखे । बालमैत्री नगरमा अभिभावकहरूको व्यवहारमा परिवर्तन हुनु पर्ने र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउने कुरामा चुनैति रहेको बताए ।

नगर बाल सञ्जाल बिराटनगर महानगरपालिकाकी सदस्य लाड्ली खातुनले बालभेलामार्फत् आएका हाम्रा आवाजहरू महानगरले सम्बोधन गर्ने गरेको भन्दै खुशी प्रकट गरिन् । बालमैत्री सिकाई केन्द्र खोल्नुपर्ने आवाज बालबालिकाको थियो । यसको सम्बोधन भएबाट बालबालिकाहरू पनि महानगरका साझेदार भएको स्पष्ट पारेको खुलासा गरिन् । नगर बाल सञ्जाल, बिराटनगर सचिव इद मोहमदले बालमैत्री अध्ययन केन्द्र खोलिएकोमा प्रसन्नता व्यक्त गर्दै यसको व्यबस्थापनमा ध्यान दिनु पर्ने बताए । बालभेला हाम्रो साझा चौतारी हो । बालबालिकाका आवाज र बिचारलाई बिश्लेषण गरेर योजना बनाउनु पर्छ भन्ने भनाई राख्दै मोहमदले बालमैत्री महानगरको यो गहना हुनेमा बिश्वस्त रहेको बताए । बालअधिकारकर्मी सरस्वती गुरुङले पनि बिराटनगर आफैमा खुदा बालमैत्री सिकाई केन्द्र भएको बताउँदै बालमैत्री नगरका निश्चित मूल्य र मान्यताहरू जोगाई राख्न सम्पूर्ण सरोकारवालाहरूको संवेदनशीलता चाहिने बताइन् । नगर बाल सञ्जाल बिराटनगरका अध्यक्ष सञ्जिवहाङ लिम्बूले पनि बालमैत्री अध्ययन केन्द्रलाई बिशेष बनाउन बालबालिकाको भूमिका रहेको बताउँदै यसको कार्यन्वयनले बिराटनगरबासीको शिर ठडिएको धारणा राखे ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला