शुक्रबार, चैत्र १६, २०८०

फेरी अर्की बालिकाको बलात्कारपछि हत्या

काठमाडौं भाद्र १४,  कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ ।  छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए । ‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्‍यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज महरा पक्राउ परे ।’

तर, प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ । ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु । गरिबको पक्षमा प्रहरीले कहिल्यै काम गरेन,’ उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन् ।  पक्राउपछि अभियुक्त मदनले नै ३१ असारमा किशोरीको शव गाडेको स्थान देखाएका थिए । कृष्णपुर नगरपालिका–२ वाणीका २१ वर्षीय मदन र २१ वर्षका भरतविरुद्ध २४ साउनमा अदालतमा मुद्दा दायर भएको थियो । २८ साउनमा पहिलो थुनछेक आदेशबाट मदन र भरत पुर्पक्षका लागि थुनामा छन् ।

कक्षा १२ मा अध्ययन गर्ने कविता २६ असारमा किताब किन्न भनेर घरबाट निस्केकी थिइन् । सोही दिनदेखि बेपत्ता कविताको ३१ असारमा कृष्णपुरकै लालझाडी जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानले कविताको हत्या २६ असारमै भएको झलारीका इन्चार्ज प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।