शुक्रबार, चैत्र १६, २०८०

प्रमुख सूचना आयुक्त बाँस्कोटाले भने- सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिनु

काठमाडौं असोज ११, नेपाल पत्रकार महासंघ, महिला समितिद्दारा आयोजित सूचनाको हकबारे महिला पत्रकारको भूमिका विषयक अन्तरक्रियालाइ समबोधन गर्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले तिरेको करबाट सञ्चालित निकायमा हुने गतिविधिबारे जनतालाई जानकारी दिन सूचनाको हक सम्बन्धी कानुन बनेको बताउनु भयो । त्यस्तै उहाँले नेपाल सरकारले सूचना दिनै भनेर छुट्टै कर्मचारी नियुक्त गरेको भएता पनि सूचना दिन नजानेको भन्दै सूचना नदिने कर्मचारी विरुद्घ आयोगमा उजुरी दिन आग्रह गर्नुभएको छ ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघको पहलमा सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको भरपुर सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ ।

सञ्चारिका समुहकी नवनिर्वाचित अध्यक्ष नितु पण्डितले कार्यक्रमको आयोजना गरेकोमा महासंघलाई धन्यवाद दिँदै पत्रकारहरुमा सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रयोग गर्ने प्रचलन कम रहेको भन्दै त्यसमा जोड दिन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । उहाँले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको संख्या पच्चीस प्रतिशत मात्रै रहेकोले पत्रकारितामा महिला पत्रकारको निरन्तरता आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा महासंघकी सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले पुरुष पत्रकार सरह महिला पत्रकार पनि सक्षम छन् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो । महासंघ लेखा समिति सदस्य मिरा भण्डारीले स्वागत मन्तव्य राख्दै महिला पत्रकारको क्षमता अभिवृद्घिका तथा सूचनाको हकको प्रयोगका लागि कार्यक्रमको आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा चलचित्र निर्माता संघकी अध्यक्ष सुचित्रा श्रेष्ठ, गोरखापत्र दैनिक प्रबन्ध सम्पादक हरिकला अधिकारी, पत्रकार रुवि श्रेष्ठ, दिपा दाहाल, शिल्पा कर्ण लगायतले सूचनाको हक सम्बन्धमा आ–आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा महासंघ महिला समितिले सञ्चारिका समुहको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुका साथै पूर्ण सफलताको शुभकामना व्यक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।