बिहिबार, चैत्र १५, २०८०

प्रकाण्ड’लाई शुक्रबार सर्वोच्चले रिहा गरेलगत्तै पुन: पक्राउ

काठमाडौं भाद्र २ , जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दियो। छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश दिएको हो।  रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीले प्रकाण्डलाई रिहा गर्न आदेश दिएका थिए। त्यस लगत्तै काभ्रेमा एनसेल टावर आगजनी गरेको मुद्दामा पक्राउ गर्न काठमाडौं प्रहरी सर्वोच्च परिसरमा पुग्यो। तर उनी सर्वोच्चको आदेश लगत्तै पक्राउ पर्ने थाहा पाएपछि लामो समय मुख्य रजिष्ट्रारको कार्यकक्षबाट बाहिर निस्किएनन्।

प्रहरी भने सर्वोच्च अदालत घेराउ गरेर रातिसम्म त्यही बस्यो। राति भएपछि मानव अधिकार योगको गाडी सर्वोच्��� परिसरमा प्रवेश गर्यो। तत्काल प्रकाण्ड मानवअधिकार आयोगको गाडीमा बसे। आयोगले प्रहरीले पक्राउ गर्दा कस्तो मानवअधिकारको हनन् भयो भन्ने विषयमा जानकारी लिन प्रकाण्डलाई आयोग लान लागेको थियो। तर, प्रहरीले प्रकाण्डलाई आयोग लान नदिन लामोसमयसम्म आयोगको गाडीलाई घेराउ गरेर राख्यो।  सुदीप पाठकको नेतृत्वमा पुगेको आयोगको टोलीले प्रकाण्डलाई गाडीमा राखे पनि आयोग लान सकेनन्। प्रहरीसँग लामै विवाद भयो। पाठकले प्रहरीलाई सम्झाउने प्रयास गरे। तर, प्रहरीले आफ्नो अडान छोडेनन्।  प्रहरी र पाठकबीच लामो समय विभिन्न कुराकानी भए। अन्तत प्रहरीले आयोग लान नमिल्ने अडान लिँदै प्रकाण्डलाई आयोगको गाडीबाट झिक्यो। आयोगको गाडीबाट प्रहरीले बाहिर निकालेपछि प्रकाण्डले यो सरकारले सर्वोच्च अदालतको आदेश समेत नमानेको भन्दै आपत्ति जनाए। अन्नपूर्णपोष्टबाट

Published on: Aug 18, 2018