शुक्रबार, चैत्र १६, २०८०

पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप: महासङ्घ

 काठमाडौ असोज १७ , नेपाल पत्रकार महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा वितरणका लागि ल्याइएका राष्ट्रिय दैनिकपत्रिका जलाइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सुदूरपश्चिमको राजधानी सम्बन्धमा समाचार छापिएका ‘कान्तिपुर’, ‘दि काठमाडौँ पोष्ट’, नागरिक, ‘अन्नपूर्ण पोष्ट’ लगायतका पत्रिका आज चार पाँच जनाको समूहले बिहान पत्रिका गाडीबाट कब्जामा लिइ अत्तरियामा जलाएको महासङ्घद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा यसअघि यही असोज १६ गते आफू अनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका संवाददाता चन्द्रकान्त जोशीमाथि एक समूहले आक्रमण गरेको थियो । कुनै पनि बहानामा जनतालाई सुसूचीत गराउने भरपर्दो माध्यमका रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको जिकिर गरिएको छ ।
साथै यस्ता कार्यले जनताको सुसूचीत हुन पाउने अधिकारलाई कुण्ठित पार्ने जनाउँदै घटनाको छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन तथा सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणका लागि कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।