शनिबार, बैशाख ८, २०८१

निर्मला बलात्कार-हत्या प्रकरण: प्रहरीको अनुसन्धान र डीएनए परीक्षणमा प्रश्न ?

डीएनए परीक्षण किन प्रहरी प्रयोगशालामा ?

काठमाडौ असोज १५, गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ ।

कञ्चनपुरकी १३ बर्से बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासनमाथि नै प्रश्न उठेको हो । विकसित मुलुकले सही निर्णयमा पुग्न एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउँछन् ।

अधिवक्ता केदार दाहाल निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रयोगशालाभन्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिने उपयुक्त भएको बताउँछन् । उनी भन्छन्, ‘वातावरणीय प्रभावले पनि डीएनएको गुण कोल्याप्स हुन्छ । डीएनए संकलनका प्रक्रियामा चाहिने विशेष खालको बक्स छैन भन्ने सुनेको छु । प्रहरी नै मुछिएको घटनामा प्रहरीले स्वतन्त्र ढंगले गहिरोसँग परीक्षण गर्न सक्यो–सकेन भन्ने प्रश्न उठ्छ । अपराधिक घटनामा प्रहरीको संलग्नता हुन सक्ने सम्भावना रहेकाले अस्टे«लियामा कानून मन्त्रालयअन्तर्गत विधि विज्ञान प्रयोगशाला राखिएको छ । प्रहरी नै मुछिएको मुद्दामा स्वतन्त्र हैसियतको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्नुपर्ने दाहालले बताए ।

‘लाहाछाप हानेर ल्याएको हुन्छ । यस्तो पाइयो भनेर ल्याएको हुन्छ । डीएनए फिल्टर गर्ने उपकरण पनि नभएको र जस्तो ल्याएको हुन्छ त्यस्तै परीक्षण गर्नुपर्ने बाध्यता हो ।’ डीएनए परीक्षण गर्ने एक वैज्ञानिकको भनाइ उद्धृत गर्दै अधिवक्ता दाहालले भने । संकलनमा त्रुटि हुन पुगेको अवस्थामा गुणस्तर कायम नहुने उनले बताए । त्रिभुवन विश्वविद्यालय, फोरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरीका अनुसार बलात्कार मुद्दामा तीन तहको भेजाइनल स्वाब निकालिन्छ । केमिकल जाँच, माइक्रोस्कोपिक जाँच र डीएनए विश्लेषण हुन्छ । त्रिवि फोरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्सकसमेत रहेका उपप्राध्यापक डा. चौधरीले भने, ‘डीएनए संकलनमा उच्च सावधानी र सतर्कता अपनाउनुपर्छ ।’

बालिकाको भेजाइनल स्वाबको परीक्षण गर्दा शंकास्पद व्यक्तिसँग नमिलेपछि प्रहरीको अनुसन्धान र परीक्षणमा प्रश्न उठेको हो । ‘अभियुक्तले कण्डम प्रयोग गरेको रहेछ भने डीएनए परिक्षणमा देखिने सम्भावना न्यून हुन्छ’, डा. चौधरीले भने ।

लिंगबाट आँखाले नेदेखिने कोष योनीमा परेको रहेछ भने पनि पत्ता लाग्न सक्छ । बलात्कारको बेला जोसुकैले पनि बचाउन कोशिश गर्छ । ‘त्यो बेला पीडितले कोपरेको छ भने नङभित्र फोहोर वा छाला हुन सक्छ, त्यसलाई संकलन गर्ने हो भने अर्को डीएनए प्रोफाइल आउँछ’, डा. चौधरीले भने । कुनै अंगका कोषिकामा अर्कै प्रकारका डीएनए क्रियाशील हुन्छन् भने फरक अंगमा अर्कै डीएनए क्रियाशील हुन्छन् ।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको भोलिपल्ट शव फेला परेको थियो । घटनालगत्तै बमको घरको कोठामा रंगरोगन गरियो । ‘घरमा घटना भएको थियो भने घरको भित्तामा रगतको छिटा वा टाटा हुन सक्थ्यो । त्यो टाटालाई कपासमा भिजाएर हावामा सुकाई डीएनए संकलन गर्न सकिन्थ्यो,’ नाम उल्लेख नगर्ने सर्तमा एक फरेन्सिक विज्ञले भने । घटनामा छिनाझपटीका बेला नङमा मासुको टुक्रा, वीर्य, योनी स्वाबलगायत प्रमाण संकलनमा गम्भीरता अपनाइएको छैन । प्रहरीले घटनास्थलको संरक्षण गरेन । पन्तले लगाएको सुरुवाल सुरक्षित गर्नुको साटो पानीमा डुबाउँदै धोइयो । ‘टेक्निसियनले कसरी डीएनए संकलन ग¥यो, त्यसमा भर पर्छ’, डा. चौधरीले भने ।

सर्वोच्च अदालतले डीएनए परीक्षण मात्रै प्रमाणका रूपमा ग्रहण गर्न अस्वीकार गरेको छ । खुमलटारस्थित विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणले बच्चाका बाबु पहिचान गर्नेसम्बन्धी मुुद्दामा प्रमाण ग्रहण गर्न अस्वीकार गरेको थियो । नेपालमा २००५ देखि डीएनए परीक्षण सुरु गरिएको थियो । अधिवक्ता दाहाल डीएनए परिक्षणपछिको प्रमाणलाई सर्वोच्च अदालतले समेत अस्वीकार गरेको बताउँछन् । भन्छन्, ‘बुबा र सन्तानको पहिचानका लागि भएको डीएनए परीक्षणको सत्यतालाई अदालतले समेत अस्वीकार गरेको छ ।’ अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।