बिहिबार, चैत्र १५, २०८०

नारी सञ्चार गृहको निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण

बिर्तामोड चैत ४ , नारी सञ्चार गृह झापाको पदहस्तान्तरण तथा सम्मान कार्यक्रम शनिवार झापाको विर्तामोडमा सम्पन्न भएको छ । गत माघ २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो । नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष शावित्रा दाहालले नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीलाई संस्थाको माइन्युट तथा खातापाता हस्तान्तरण गर्दै पद हस्तान्तरण गर्नुभएको हो । 

 अम्बिका भण्डारीको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा भिमा शिवाकोटी, सचिवमा रेजिना गौतम, सहसचिवमा स्वस्तीका आचार्य, कोषाध्यक्षमा सुशिला संग्रौला रहनुभएको छ भने सदस्यहरुमा ज्योस्ना श्रेष्ठ, भूमिका सुब्बा र राधा खनाल रहनुभएको छ । भूगोल र जातजातिको आधारमा नयाँ समितिले केही सदस्य थप गर्ने बताइएको छ ।

सोही अवसरमा २०२६ सालमा प्रकाशक/ सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मान पत्र र दोसल्ला अर्पण गर्दै सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वको जीवनीबारे भवानी क्षेत्रीले प्रकाश पार्नुभएको कार्यक्रममा सम्मानपत्र वाचन स्वस्तीका आचार्यले गर्नुभएको थियो।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्य र नारी सञ्चार गृहका निवर्तमान अध्यक्ष शावित्रा दाहाल तथा नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्ले, विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरी, विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाई, सम्मानित ब्यक्तित्वका तर्फबाट भाषाविद चुडामणि रेग्मी, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो। शुभकामना राख्ने अधिकांश बक्ताहरुले सामाजिक विषयवस्तु र खोजमूलक समाचारलाई प्राथमिकता दिदै न्यायमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।