शनिबार, बैशाख ८, २०८१

नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना नरपिपासु जेल चलान

 काठमाडौं चैत २८,  नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गतफागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने पाँचजना नरपिपासु क्रमस सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई मंगलवार जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको हो ।

प्रहरीका अनुसार गत फागुन १७ गते साँझ उनी घरबाट बल्खुतर्फ निस्केकी किशोरीलाई चक्रपथमा चल्ने बा४ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले भेट्टाए । ललाइफकाई वसुन्धरास्थित ग्यारेजमा लगेर पालैपालो जबर्जस्ती गरे । भोलिपल्ट चालक घिमिरेको हरिसिद्धिस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाई बलात्कार गरे ।

त्यस घटना पछि किशोरी फागुन २४ गते थुनिएको कोठाबाट भागिन् । भागेको दिन अर्को बसका चालक सुदीप बजगाईंले भेटेर रातभर बलात्कार गरे । किशोरीको खोजीमा लागेका सहचालक गड्तौलाले त्यसको भोलिपल्ट फेरि उनलाई फेला पारेर चालक घिमिरेलाई जिम्मा लगाए । र, घिमिरेले पुन कोठामा लगेर जबर्जस्ती गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चालक घिमिरेले २७ फागुनमा किशारीलाई सातदोबाटोबाट चक्रपथ गुड्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाइदिएका थिए । उक्त गाडीका चालक भोला तामाङ र सहचालक चन्द्र सापकोटा मिलेर दिनभर गाडीमा घुमाए । राति स्वयम्भूस्थित ग्यारेजमा पुर्‍याई दुवैले पालैपालो बलात्कार गरे । उनको स्वास्थ्य बिग्रँदै गएपछि चालक तामाङ र सहचालक सापकोटाले गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिएर २८ फागुनमा स्वयम्भू लगेर छाडेको प्रहरीको भनाइ छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।