बिहिबार, चैत्र १५, २०८०

दिलशोभा माथिको यौन दुराचार सम्बन्धी आरोप पुष्टि भएन

  क्षमाप्रार्थी छौ : प्रधान सम्पादक, नागरिक दैनिक 

काठमाडौं ज्येष्ठ ६, केपी ढुंगाना आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि परेको उजुरी अनुसन्धानमा ‘यौन दुराचार सम्बन्धी आरोप पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ। दिलशोभाको टेलिफोन रेकर्ड भनी उजुरीसाथ संलग्न एकतर्फी फोनसंवाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निष्कर्ष निकालेको हो। उजुरीमा उल्लिखित अवैध बालगृह चलाएको, बालगृह तथा आमाघरका नाममा आएका सहयोग सामग्री बेचबिखन गरेको र बालगृहका बालबालिकालाई बाहिर पठाउनेलगायत अन्य आरोप भने प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
श्रेष्ठद्वारा सञ्चालित आमाघरबारे जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा भनिएको छ, ‘उजुरीको बुँदा नम्बर १६ मा उल्लेख भएबमोजिम बालबालिकाको बयान, आमाघरबाट विगतमा अन्यत्र गई बसेका व्यक्तिको बयान र उजुरीसाथ संलग्न अडियो क्लिपको संवादका आधारमा दिलशोभा श्रेष्ठ र राधिका मानन्धरबीच उक्त वार्ता भएको देखिएकाले आमाघरमा त्यस्तो कुनै क्रियाकलाप नभएको पुष्टि हुन्छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘आमाघरले अनुमति नै नलिई बालगृह सञ्चालन गरेको, संस्थाका नाममा आएको आर्थिक सहयोग अपचलन हुने गरेको, बालबालिकालाई अवैध रूपमा विदेश पठाउने गरेकोु लगायत आरोपसँगै एकतर्फी फोनसंवादको रेकर्ड संलग्न गरी आमाघरको आवरणमा अनैतिक गतिविधि हुने गरेको भनी उजुरी परेको थियो।सोही उजुरी र फोनसंवादको रेकर्डका आधारमा केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीको संयुक्त टोलीले आमाघरको अनुगमन थालेको थियो। अनुगमन क्रममा त्यहाँ आश्रित बालबालिका जोखिममा रहेको र अन्य आरोपबारे विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै २०७० फागुन १४ गते प्रशासनले बालबालिकाको उद्धार गरेको थियो। प्रशासनले त्यसको छ दिनपछि फागुन २० गते अडियो क्लिपसहित उजुरीको प्रति पठाएर यौन दुराचारलगायत आरोपमाथि अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको थियो।

काठमाडौं परिसरले अनुसन्धानका लागि पत्र र फोनसंवादको रेकर्ड महानगरीय प्रहरी अपराध महाशाखालाई पठायो। महाशाखाले डिएसपी मीरा चौधरीमार्फत अनुसन्धान गरेर आइतबार काठमाडौं परिसरलाई प्रतिवेदन बुझाएको हो।काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश खरेलले जिल्ला प्रशासनबाट प्राप्त पत्रका आधारमा अपराध महाशाखाले अनुसन्धान गरी तयार पारेको प्रतिवेदन परिसरमा आएको जानकारी दिए। ‘अनुसन्धान प्रतिवेदन हामी जिल्ला प्रशासनमा बुझाउनेछौं,उनले सोमबार नागरिकसँग भने। प्रतिवेदनका निष्कर्ष र भावी कारबाही प्रक्रियाबारे भने उनले केही बताउन चाहेनन्।
‘उजुरीकर्ताले एकतर्फी फोनसंवादको रेकर्ड माघ २ गते बेलुकी ७:०७ बाट सुरु भएको दाबी गरे पनि दिलशोभाले प्रयोग गर्ने मोबाइल र आमाघरमा रहेको ल्यान्डलाइनको कल रेकर्ड विश्लेषण गर्दा त्यो समय कसैसँग कुराकानी भएकै देखिएन, प्रतिवेदनको निष्कर्ष उद्धृत गर्दै स्रोतले नागरिकसँग भन्यो।
प्रतिवेदनमा दिलशोभाको ‘सिडिआरु (कल डिटेल रेकर्ड) विवरणमा त्यो समय कुनै कल नदेखिएको उल्लेख छ। त्यही मिति आसपास त्यही समयतिर तीनवटा नम्बरमा सम्पर्क भएको प्रतिवेदनमा छ। प्रहरीले माघ १६ को सोही समयलाई आधार बनाउँदै त्यसबेला सन्तोष तिमल्सिना, धर्मकुमारी थापा र राधिका मानन्धरसँग सम्पर्क भएको प्रतिवेदनमा उल्लेख छ।
अडियो रेकर्डको प्रोपर्टीमा रेकर्ड मिति र समय सन् २०१४ जनवरी १६ ९माघ २० १९ः१० उल्लेख छ। सिडिआर रेकर्ड हेर्दा माघ १६ गते त्यही समय सम्पर्कमा देखिएका सन्तोष तिमल्सिनाले प्रहरी बयानमा एक वृद्धालाई दिलशोभाकहाँ राख्न फोन गरेको दाबी गरेका छन्। दिलशोभाका अनुसार रेकर्डमा देखिएकी राधिका कालिमाटी निवासी क्यान्सर बिरामी हुन् भने धर्मकुमारी उनको घरमा काम गर्न जाने महिला।
प्रहरी प्रतिवेदनमा उक्त अडियो रेकर्ड उजुरीकर्ताले दाबी गरेझैं माघ २ गते नै रेकर्ड भएको हो या हैन भन्नेबारे केही उल्लेख छैन। प्रहरीको अनुसन्धान प्रतिवेदनमा अडियोको वैज्ञानिक परीक्षणको पाटो पनि समेटिएको छैन। प्रहरीले माघ १६ को समयलाई आधार बनाएर फोनसंवादमा सुनिएको कुराकानी दिलशोभा र राधिकाबीच नै भएको निष्कर्ष दिएको छ।
प्रहरी अनुसन्धान प्रतिवेदनले अवैध रूपमा बालगृह सञ्चालन गरेको, आमाघरमा राख्न पठाएका चार बालबालिका फेला नपरेको, संस्थामा आएका सहयोग सामग्री बेचबिखन हुने गरेको पुष्टि गरेको छ। बालगृहमा राख्न भनी ल्याइएका बालबालिकालाई बाहिर पठाएको, शारीरिक यातना दिने गरेको र म्याद सकिएका अखाद्य तथा गुणस्तरहीन खानेकुरा खुवाउने गरेको समेत प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।अनुसन्धान प्रतिवेदनअनुसार थानकोट बस्ने मनोरञ्जन गोपाली, विनोद खाद्य स्टोरका सञ्चालक खिलबहादुर श्रेष्ठ, काठमाडौं– १३ का दिलबहादुर श्रेष्ठले आमाघरकी सञ्चालिका दिलशोभासित सामग्री किन्ने गरेका थिए। आमाघरको नाममा आउने सामग्री किन्नेमध्ये मनोरञ्जन दिलशोभाका आफ्नै भाइ हुन्।
‘तीनजनाले सामान किनेको स्वीकार गरेकाले संस्थामा आएका सहयोग सामग्री बेचबिखन हुने गरेको पुष्टि हुन आउँछ, प्रतिवेदन उद्धृत गर्दै स्रोतले भन्यो।
उजुरीमा ४० लाख रुपैयाँ हुन्डीमार्फत विदेश पठाएको दाबी गरिएको थियो। प्रहरी प्रतिवेदनअनुसार यो विषय अनुसन्धानको दायरामा पारिएको छैन। अनुसन्धान प्रतिवेदनमा वृद्धावस्थाका असहाय व्यक्ति पालनपोषण गर्ने उद्देश्यले सञ्चालित आमाघरको विधानअनुसार पनि बालबालिका राख्ने अनुमति नहुँदा–नहुँदै गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको उल्लेख छ। दिलशोभाले प्रहरीसँगको बयानमा बालबालिकालाई कहिल्यै कुटपिट नगरेको दाबी गरे पनि प्रहरीले आफ्नो प्रतिवेदनमा ‘बालबालिकालाई लाठीले कुट्ने, सामूहिक सजाय दिने र म्याद गुज्रिएका, बासी तथा कीरा लागेका खाद्य सामग्री खुवाउने गरेको नकार्न नसकिनेु उल्लेख गरेको छ।
दिलशोभाले कुनै बालबालिकालाई विदेश नपठाएको दाबी गरे पनि प्रहरीले भने आमाघरमै गरिएको पत्रकार सम्मेलनको भिडियो क्लिपलाई आधार बनाउँदै ‘दिलशोभा आफैंले बेलायत र क्यानडा पठाएको स्वीकार गरेकोु विवरण प्रतिवेदनमा समेटेको छ। तर, ती देशमा बालबालिका पठाइएका हुन् कि होइनन्, पठाइएका हुन् भने को–को हुन् र कुन प्रक्रियाबाट विदेश लगिएका हुन् भन्ने पाटोतिर अनुसन्धान प्रवेश गरेको देखिएन।
उजुरीकर्तासँग प्रहरीले लिएको बयानमा आमाघरमा ल्याइने काखे बालबालिकालाई विदेश लैजान एजेन्टको काम गर्ने व्यक्तिको नाम र नम्बरसमेत खुले पनि प्रहरी प्रतिवेदनमा यसबारे केही उल्लेख छैन।
दिलशोभाले आफ्नो बयानका क्रममा चार बालबालिकालाई विभिन्न संस्थामा पठाएको दाबी गरे पनि केन्द्रीय बालकल्याण समितिसहितको टोलीले उद्धार गरेका ३७ बालबालिकाको अभिलेख उतार्ने समयसम्म उनीहरूको अभिलेख उपलब्ध गराउन नसकेको प्रहरी अनुसन्धान प्रतिवेदनमा छ।
‘विशेष भट्टराईको संरक्षक वसन्ती अधिकारी भट्टराई, अर्जुन गुरुङलाई समाजकल्याण परिषद, २० वर्षे पेमा शेर्पालाई बालबालिका खोजतलास सेवाकेन्द्र भृकुटीमण्डप तथा बलिराज बूढालाई केन्द्रीय बालकल्याण समितिको कार्यालयबाट संरक्षणका लागि पठाएको कागजात उपलब्ध गराइए पनि उनीहरू कहाँ छन् भन्ने अभिलेख उपलब्ध गराउन नसकेकोु अनुसन्धान प्रतिवेदनमा छ।
प्रहरी अनुसन्धानमा बालगृहमा राख्ने भनी ल्याइएका बालबालिकालाई घरेलु श्रममा अन्यत्र पठाइने गरेको विवरणसमेत छ। छाउनी बस्ने सावित्री श्रेष्ठकहाँ नवराज दानी, थानकोटस्थित माइतीमा बबिक सिलवाल, पोखराको लक्ष्मी श्रेष्ठकहाँ सुस्मिता बोगटी र भुन्टु, टेकुमा अप्सरा, पोखराको चिप्लेढुंगाको पुष्पराज बज्राचार्यकहाँ मनोज थापा, असनको पूर्णदेवी कंसाकारकहाँ वसन्ती कार्की र पाटनमा खुसी नाम गरेकी बालिका पठाएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
दिलशोभाले बयान क्रममा संस्थाको आम्दानी मेघा बैंक, नेपाल बैंक र सानिमा विकास बैंकमा राख्ने गरेको उल्लेख गरेकी छन्। उनले संस्थाको नाममा आएको सहयोग बेचबिखन गर्ने गरेको पुष्टि गरे पनि प्रहरीले आर्थिक अपचलनको पाटोमा अनुसन्धान गरेको देखिएन।
आमाघरले दाताहरूलाई नगद सहयोगको आग्रहसहित बनाएको बोर्डमा विभिन्न बैंकका १० खाता नम्बर राखिएको थियो। स्रोतअनुसार आमाघर प्रकरण सार्वजनिक भएलगत्तै अधिकांश बैंकका खाता बन्द छन्।
बालबालिकासँगको परामर्शमा उनीहरूलाई प्रत्येक शनिबार कालिमाटी खसीबजारनजिकको सालोङ चर्चमा लगेर प्रार्थना गराउने गरेको खुलेको थियो। उद्धार गरिएका बालबालिकाको झोलामा बाइबल फेला परेको थियो। दिलशोभाले बयानमा बालबालिकालाई चर्चमा जान बाध्य नपारिएको उल्लेख गरेकी छन्। प्रहरी अनुसन्धान धर्म परिवर्तनको पाटोमा पनि प्रवेश गरेको देखिएन।
क्षमाप्रार्थी छौं
नागरिक दैनिकले वर्ष ५ अंक ३०१ मा समाजसेवी दिलशोभा श्रेष्ठमाथि परेको उजुरी र त्यसमा लगाइएको आरोपसम्बन्धी समाचार बिनापूर्वाग्रह प्रकाशित गरेको थियो। त्यसमा उनीमाथि नागरिक आफैंले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समर्पित एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्त्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारपूर्ण देखिएको भन्ने प्रतिक्रियारआशय प्रकट गरिए।
नागरिक दैनिकले प्रकाशित गर्ने कुनै पनि समाचारले कुनै पनि रूपमा आफ्नो व्यावसायिक मर्यादा नाघ्न नहुनेमा हामी सधैं सचेत र सावधान छौं। तथापि आफ्नो व्यावसायिक धर्म पालना क्रममा श्रेष्ठमाथिको उजरीसम्बन्धी समाचार पाठकलाई अरुचिकर लागेको हामीले त्यतिबेलै महसुस गरेका हौं। तर केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरीले अनुसन्धान सुरु गरेको विषयमा अनुसन्धान टुंगो नलागुन्जेल थप प्रस्टीकरण दिन हतार गरेनौं। प्रहरीको अनुसन्धान प्रतिवेदनले दिलशोभा श्रेष्ठमाथि लागेका कतिपय आरोप पुष्टि गरे पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको औंल्याएको छ। नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटका लागि हामी जिम्मेवारी महसुस गर्छौं, र यसका लागि क्षमाप्रार्थी छौं।
प्रधान सम्पादक – नागरिक,  नागरिक दैनिकबाट