बिहिबार, चैत्र १५, २०८०

तेस्रो पूर्ण बैठक : पत्रकार महासंघको प्रादेशिक निर्वाचन वैशाख २२ गते

काठमाडौं फागुन २३,  नेपाल पत्रकार महासंघको जनकपुरमा सम्पन्न केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । त्यस्तै सम्पन्न बैठकले १८बुँदे जनकपुर घोषणापत्र जारी गर्दै सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने र पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालना गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

बैठक पछि प्राप्त जानकारी अनुसार श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि आन्दोलनका कार्यक्रमसहित चारमहिने कार्ययोजना तय गर्दै महासंघको सुझाव र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकारसँग माग गर्नुको अलावा बैठकले स्वास्थ्य बीमाको थप योजना अघि बढाउने निर्णय गर्दै प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ पत्रकारको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने नितिगत निर्णय गरेको छ ।

साथै महासंघलाई ट्रेड यूनियन संस्थाका रूपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय सहित प्रेसस्वतन्त्रता विरोधी’ अनलाइन निर्देशिका फिर्ता लिन ,अवरुद्ध भएको आमसञ्चार प्रतिष्ठान गठनको प्रक्रिया प्रति सरकारको ध्यानाकर्षण सहित साना लगानीका सञ्चारमाध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै वृत्ति विकास तथा तालीम सञ्चालनका लागि साना लगानी मिडिया कोष स्थापना गर्न माग गरेको छ ।

त्यस्तै प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न, विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत स्ट्रिन्जरलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्न, महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशमा क्रमशः इ लाइब्रेरीको स्थापना गर्न र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि पहल गर्दै जनकपुर–अयोध्या परिपथ निर्माण गर्नाका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यान आकृष्ट गराउने निर्णय गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।