शुक्रबार, चैत्र १६, २०८०

झापा ११ ए डिभिजनमा परेपछि बढ्यो उत्साह

बिर्तामोड भाद्र ३१ ,  अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा ११लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापाली खेलप्रेमी उत्साहित बनेका छन् ।  राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको झापा ११ले पाएको यो सफलतापछि सरोकार राख्नेहरुबीच भेटघाट र टेलिफोनमार्फत बधाई तथा शुभकामना समेत साटासाट भइरहेको छ । झापा ११ लाई अगुवाई गरिरहेकाहरु यो सफलतासँगै मुलुकमा झापाको गौरब बढेको बताउँछन् ।

Captureझापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले एन्फाको निर्णयसँगै आफूहरु खुशी र उत्साहित भएको बताए । ‘देशभर झापाको शान बढेको छ, झापालाई चिनाउने यो अवसर पनि हो’– गुरुङले भने– ‘यो हाम्रो लागि ठूलो उपलब्धि हो, यस अवसरलाई सबैको सहयोग लिएर सफलतामा परिणत गर्नेछौं ।’ सबै क्षेत्रको मेहेनत र त्यागले गर्दा यो सफलता प्राप्त भएको पनि गुरुङले बताए ।

झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले झापा ११ ए डिभिजनमा पर्नु जिल्लावासीको गौरवको विषय भएको बताए । यो सफलतासँगै झापाको फुटबल अब व्यवसायिकतातिर अघि बढेको गिरीको भनाइ छ । नेपाली फुटबलमा झापा अब्बल छ भनेर यो पटक पुष्टि भएको बताउँदै गिरीले भने– ‘झापा ११ नेपालकै उत्कृष्ट फुटबल क्लब बन्नसक्छ ।’  झापा ११का लागि आर्थिक पाटो दह्रो बनाउन सकियो भने यो क्लब नेपालकै उत्कृष्ट बन्ने गिरीको दावी छ ।

झापा ११सँगै मोफसलका अन्य तीन वटा क्लबले पनि ए डिभिजनको मान्यता पाएका छन् । मोरङ, रुपन्देही र सुदूरपश्चिम फुटबल क्लबले ए डिभिजनको मान्यता पाएका हुन् । योसँगै ए डिभिजनको मान्यता पाउने क्लब संख्या १६ पुगेको छ ।  यसअघि उपत्यकाका ‘ए’ डिभिजन क्लबमा थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब रहेका छन् ।  एन्फाले ए डिभिजनको लिग पनि होम एण्ड अवे पद्धतिमा खेल्ने निर्णय गरेको छ । एन्फाले मंसीरको दोस्रो साताबाट लिग आयोजना गर्ने समेत निर्णय गरिसकेको छ