शुक्रबार, चैत्र १६, २०८०

झापाली समाज युएई नेपाल सम्पर्क समितिको अध्यक्षमा लुइँटेल

बिर्तामोड जेठ २६, वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा झापाबाट युएई गएका झापालीहरुद्वारा स्थापित झापाली समाज युएई नेपाल सम्पर्क समितिको शनिबार सम्पन्न प्रारम्भिक अधिवेशनले समितिको अध्यक्षमा जगत लुइँटेललाइ चयन गरेको छ ।    लुइँटेलको अध्यक्षतामा नवगठित समितिको उपाध्यक्षहरुमा वीरेन्द्र थापा, दुर्गेस सापकोटा, विनिता सापकोटा, सचिव डिल्ली हुमागाईं, सहसचिव तारा कटुवाल, कोषाध्यक्ष छवि खनाल र सहकोषाध्यक्षमा तिलरुपा दाहाल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा तुलसीप्रसाद निरौला, सुमन भट्टराई, कुमार राई, मञ्जु शिवाकोटी, कृष्णप्रसाद ताजपुरिया, विमल पौडेल, मदन थापा रहेका छन् । समिति चयन गर्नका लागि टेकनाथ अधिकारी अध्यक्ष र भरत शिवाकोटी र सुमन भट्टराई सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।
झापा समाज युएई नेपाली सम्पर्क समिति झापाका संयोजक माइनसप्लस संग्रौलाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन मण्डलका अध्यक्ष टेकनाथ अधिकारीले नवगठित समितिका अध्यक्ष लगायत पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा समितिका पूर्व संयोजक भूपाल शिवाकोटी, संयोजक माइनसप्लस संग्रौला, वासुदेव चापागाईं लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए भने एक्सेल बैंकका विभागीय प्रमुख शिवकुमार गिरी, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाल, डोरामारी माविका प्रधानाध्यापक केदारबहादुर भण्डारी, झापाली समाज युएई नेपाल सम्पर्क समितिका संस्थापक महासचिव टेकनाथ अधिकारी, केन्द्रीय सदस्य बासुदेव चापागाईं, झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाका पूर्व संयोजक भूपाल शिवाकोटी लगायतले शुभकामना मन्तव्य अभिव्यक्त गर्नु भएको थियो ।    त्यस्तै सोही कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर माइधारमा रहेका ज्येष्ठ नागरिक मध्ये ८९ वर्षीया भद्रकुमारी सापकोटालाई दोसल्ला सहितको सम्मान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।