बुधबार, बैशाख १२, २०८१

झापाका नागरिक भन्छन्:  प्रदेश १ को राजधानी गोठगाउँ, नाम विराट वा सगरमाथा

 बिर्तामोड  साउन ३,   प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिको निष्कर्ष छ ।   पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको आठ सय विगाह सरकारी जमिनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने उनीहरुको ठहर छ । प्रदेश १ को नामकरण भने विराट वा सगरमाथा राख्दा सबैको भावना समेटिने सुझाव पनि दिइएको छ ।
विहीबार बिर्तामोड १ मा भएको छलफलमा सहभागी ज्येष्ठ नागरिक,विभिन्न स+घसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले त्यस्तो निष्कर्ष तथा सुझाव दिएका हुन् । ४० बढी सहभागी छलफलमा सबैको एउटै मत थियो– ‘प्रदेश १ को राजधानी गोठगाउँमै हुनुपर्छ ।’   ‘१४ वटै जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ’ – ज्येष्ठ नागरिक तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भने– ‘दीगो रुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।’

प्रदेशको राजधानी मोरङ कि सुनसरी भन्ने बहस चर्किएको बेला सुनसरीको इटहरीबाट थोरै पूर्व मोरङको गोठगाउँ मै राजधानी राख्नुपर्ने छलफलमा सहभागी हरि ओझाले बताए ।  राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले भने– ‘हामीले राजधानी झापा हुनुपर्छ भनेको छैन, बिर्तामोड र दमकमा पनि मागेका छैनौं– सबैलाई पायक पर्ने राजधानी गोठगाउँ नै हो ।’
नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष केदार गिरीले सबैको भावनाको सम्मान र सबैलाई पायक पर्ने ठाउँ गोठगाउँ नै भएको बताए ।

मेची डिलर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले भने– ‘व्यक्तिगतरुपमा भन्ने हो भने बिर्तामोडलाई राजधानी बनाउनुपर्छ, सबैलाई उपयुक्त ठाउँ तोक्ने हो भने गोठगाउँमै राजधानी बन्नुपर्छ ।’  भौगोलिक र प्राकृतिक दृष्टि, खुल्ला वातावरण, पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रविन्दु, पूर्वाञ्चल विश्वविद्यालय समेत रहेको आठ सय विगााह जमिन भएको गोठगाउँलाई दीगो सोचका साथ राजधानी बनाउनुपर्नेमा उनीहरुको जोड थियो । विराटनगर अस्तव्यस्त, प्रदुषित, साँघुरो, भीडभाड, डुबाऊ क्षेत्र भएको, भारतीय सीमा नजिक रहेकोले त्यहाँ राजधानी उपयुक्त नहुने उनीहरुको धारणा थियो ।   प्रदेश १ को नाम विराट र सगरमाथामध्ये एक वा विराट–सगरमाथा राख्नुपर्नेमा धेरैको मत मिलेको थियो । सहभागीले कोशी, सप्तकोशी, मेची–कोशी, कञ्चनजंघा, विराट–सप्तकोशी, माउण्ट एभरेष्ट, विराट–हिमालय जस्ता नाम पनि विकल्पका रुपमा प्रस्तुत गरे ।

त्यस्तै विश्वको अग्लो हिमाल सगरमाथा र देशकै होचो भू–भाग कचनकबल यही प्रदेशमा पर्ने भएकाले ‘स्वर्ग प्रदेश’ राख्दा पनि हुने कतिपयको सुझाव थियो । राजधानी सबैलाई पायक पर्ने फराकिलो ठाउँ हुनुपर्ने र नामाकरण गर्दा सबैले आत्मसम्मानबोध गर्ने गरी राख्नुपर्नेमा सहभागीको जोड थियो ।   कार्यक्रममा ज्येष्ठ नागरिक कुलप्रसाद ओडारी तथा जानुका रेग्मी, मेदनी प्रसाईं, जगन्नाथ खनाल, शम्भु घिमिरे, राम बाराकोटी, टीका खरेल, कमल मिश्र, सुरेश वंशल, श्याम पोखरेल, टंक कटुवाल, मणिचन्द्र सापकोटा, विष्णुबहादुर श्रेष्ठ, डिल्लीराम थपलिया, गुञ्जन थापा, प्रकाश कोइराला, पदम आचार्य, तेजप्रसाद सिटौला, कृष्णप्रसाद प्रसाईं, डम्बरबहादुर बस्नेत, शेखर ढकाल, केशव उप्रेती, रुपक थापा, पदम प्रसाईं, डिल्ली उप्रेती, गोपाल खतिवडा, धर्मप्रसाद शिवाकोटी, दुर्गाप्रसाद थपलिया लगायतले धारणा र सुझाव राखेका थिए । क्षेत्रीय संवाद समूह झापा र देवी पञ्चकन्या मर्निङवाक ग्रुपको संयोजनमा भएको छलफलको सहजीकरण संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेल र संवाद समूहका सदस्य मदनगोपाल सुब्बाले गरेका थिए ।
तस्वीर : कमलप्रसाद पाण्डे (विनोद)

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।