शनिबार, बैशाख ८, २०८१

छुवाछूत तथा जातीय विभेदको अन्त्यका लागि संवेदनशील हुन आयोगको आग्रह

काठमाडौ चैत २५ ,  राष्ट्रिय मानवअधिकार आयोगले राज्यका खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सरोकारवालाहरुसँग छलफल एवम् अनुगमनको क्रममा मानवअधिकार तथा मानवअधिकार रक्षकको अवस्था, छुवाछूत तथा जातीय विभेदको स्थिति अझै कायमै रहेको जनाएको छ । आयोगका सचिव वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै आयोगले  अनुगमनकाक्रममा समाजमा विद्यमान विभेदबारे थप जानकारी पाएको जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा ज्येष्ठ नागरिकहरुले यातायात क्षेत्रमा ५० प्रतिशतको छुट सहुलियत नपाएको, दलित समुदायप्रति छुवाछूत तथा जातीय विभेद कायमै, लैंगिक समानताविपरीत महिलाहरुलाई दिइने ज्याला पुरुषको तुलनामा कम दिइएको तयस्तै शिक्षा, भरपर्दो स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट बालबालिका तथा आम नागरिक अझै बन्चित रहेको, घरेलु हिंसा तथा मानसिक यातना एवं गरिबीको कारणबाट आत्महत्याका घटना बढेको, रोजगारीको अभावमा युवापुस्ताको पलायन भएको, ज्येष्ठ नागरिकको जीवनयापनमा कठिनाइ एवं पारिवारिक विखन्डनका घटना समेतले वढावा पाएको उल्लेख गरिएको छ ।

आयोगका अधिकृतहरुको टोलीले गएको चैत १७ देखि २२ गतेसम्म गरेको अनुगमनको क्रममा जिल्लाका मानवअधिकारकर्मी तथा पत्रकारहरुलाई मानवअधिकार अनुगमन सम्बन्धमा अभिमुखीकरणसमेत गरिएको जनाउँदै यसवीचमा भ्रष्टाचार र दन्डहीनताविरुद्ध निर्भिकतापूर्वक कलम चलाउन सहज स्थिति नहुँदा पत्रकारहरुले अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपभोग गर्न कठिनाइ भएको र राज्यले प्रदान गरेका सेवा–सुविधा सुलभरुपमा सम्बन्धित वर्गलाई उपलब्ध गराउन, समान कामको समान ज्याला सुनिश्चित गर्न, लैंगिक समानता कायम गर्न, जातीय विभेदको स्थितिलाई निर्मूल गर्न, ज्येष्ठ नागरिक एवं किसानको हक संरक्षण गर्न, आवश्यक रोजगारीको हक सुनिश्चित गर्न नेपाल सरकार, स्थानीय प्रशासन तथा सरोकारवालासँग आयोगले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।