मङ्लबार, बैशाख ११, २०८१

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राहदानीवाहक पर्यटकको सङ्ख्यामा गिरावट

 भैरहवा पौष २१, विश्व शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने तेस्रो देशका पर्यटकको सङ्ख्यामा कमी आएको छ । राहदानीवाहक पर्यटकको सङ्ख्यामा गिरावट आएपछि यस क्षेत्रको समग्र पर्यटन व्यवसाय प्रभावित भएको छ । लुम्बिनीलाई विश्व पर्यटनको प्रमुख गन्तव्य बनाइरहने भनेर भनिरहेको सन्दर्भमा तेस्रो मुलुकका पर्यटकहरूको आगमनमा चाहिँ गिरावट आउनु राम्रो लक्षण नभएको पर्यटनविद् प्राध्यापक डा. गितु गिरीको भनाइ छ ।

limbini “सङ्ख्यात्मक रूपमा भारतीय र नेपाली पर्यटकको सङ्ख्या वृद्धि भए तापनि तेस्रो मुलुकको सङ्ख्या घटेको छ । यसको मूलभूत कारण विश्व पर्यटन बजारमा लुम्बिनीको अझै प्रचारप्रसार राम्रो नभएर नै हो । यसतर्फ लुम्बिनी विकास कोष र राज्यले ध्यान दिनुपर्दछ,” पर्यटनविद् प्राडा गिरीले भन्नुभयो । लुम्बिनी विकाष कोषका सदस्यसचिव अजितमान तामाङले भारतको बोधगयामा भएको घटनाले पनि लुम्बिनी भ्रमण गर्न चाहने श्रीलङ्काली र बर्मेली पर्यटकलाई प्रभावित पारेका कारण उनीहरूको सङ्ख्या ह्वात्तै घट्दा सङ्ख्यात्मक रूपमा तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा गिरावट देखिएको बताउनुभयो ।

कोषका प्रवक्तासमेत रहेका तामाङले लुम्बिनी घुम्न आउने मुख्यगरी श्रीलङ्का, बर्मा र जापानका पर्यटक घटेको बताउनुभयो । अन्य देशका नागरिकको लुम्बिनी भ्रमण गर्ने तथा लुम्बिनी बसाइ सामन्य गिरावट आएको छ । सन् २०१३ मा ३५ हजार ४२६ जना श्रीलङ्कालीले लुम्बिनीको भ्रमण गरेका थिए जबकि अघिल्लो वर्ष सन् २०१२ मा ५२ हजार ५२ हजार ६७१ ले लुम्बिनीको भ्रमण गरेका थिए । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०१३ मा विश्वभरिका १०० देशका नागरिकले लुम्बिनीको भ्रमण गरेका छन् । वर्ष २०१३ मा लुम्बिनीको भ्रमण गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या एक लाख २५ हजार ४९२ रहेको छ । सन् २०१२ मा एक लाख ३६ हजार एक जनाले र सन् २०११ मा एक लाख २८ हजार २५९ जना तेस्रो मुलुकका नागरिकले लुम्बिनीको भ्रमण गरेको कोषका सूचना अधिकृत राईले जनाउनुभयो । यद्यपि आन्तरिक र भारतीय पर्यटकको आगमनमा वृद्धि भएकोप्रति सन्तोष जनाएको छ । सन् २०१३ को वर्षभरिको तथ्याङ्कलाई केलाउँदा लुम्बिनी भ्रमण गर्ने नेपालीको सङ्ख्या विगतका वर्षहरूमा भन्दा ह्वात्तै बढेको छ । यसैगरी भारतीय पर्यटकहरू पनि विगतका वर्षमा भन्दा धेरै यस वर्ष लुम्बिनीको भ्रमण गरेका छन् ।

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०११ मा तीन लाख ९५ हजार ५७० जना नेपालीले लुम्बिनीको भ्रमण गरेकामा यो सङ्ख्या दुई हजार १२ मा बढ्न गई पाँच लाख ३९ हजार २१० पुगेको थियो । यसरी लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्या सन् २०१३ भरी पनि उल्लेख्य रह्यो । सन् २०१३ मा पाँच लाख ७३ हजार ५२९ जना नेपालीले लुम्बिनीको भ्रमण गरेका छन् ।

यता छिमेकी मुलुकका नागरिक भारतीय पर्यटकको पनि लुम्बिनी भ्रमण गर्ने सङ्ख्यामा वृद्धि भएको छ । लुम्बिनी घुम्न आउने भारतीय पर्यटकको तीन वर्षको तथ्याङ्कलाई केलाउँदा यो वर्ष सबैभन्दा उत्साहजनक देखिएको छ । सन् २०११ मा ६३ हजार ७०९ जना भारतीयले लुम्बिनीको भ्रमण गरेकामा त्यो सङ्ख्या सन् २०१२ मा बढ्न गई एक लाख २० हजार ५८३ पुगेको थियो । यी दुई वर्षभन्दा यस वर्ष भारतीय पर्यटकको सङ्ख्या झन् बढ्न गई एक लाख ५० हजार २५२ पुगेको छ ।

यसरी आन्तरिक पर्यटक र भारतीय पर्यटकको सङ्ख्यामा आएको वृद्धिले पर्यटनको आन्तरिक बजारमा उत्साह थपिए तापनि यो विश्व पर्यटन बजारका लागि भने त्यति शुभ सङ्केत नभएको पर्यटन क्षेत्रका विश्लेषक बताउँछन् । आन्तरिक पर्यटक र भारतीय पर्यटक मुस्किलले एकाध दिनबाहेक लुम्बिनीमा बस्दैनन् जसका कारण लुम्बिनी उनीहरूका लागि ऐना मात्रै हो । आउँछन्, हेर्छन्, जान्छन् तर तेस्रो मुलुकका पर्यटक जो आउँछन् हेर्छन्, हप्तौँ बस्छन् र जादाँजाँदै लुम्बिनीका लागि सहयोग पनि गर्दछन् । यति मात्र नभएर भारतीय पर्यटक त भारतीय गाडीमा भारतीय गाइडद्वारा नै निर्देशित भई घुम्छन्, नेपालको लुम्बिनी आएको पत्तो नै पाउँदैनन् अनि नास्ता खाएर प्लास्टिकका पोका लुम्बिनीमा फ्याँकी पुनः बास बस्न भारत फर्किने हुँदा भारतीय पर्यटको लुम्बिनी भ्रमणले गुणात्मक असर नपर्ने बुद्धिजीवी तथा भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमख डा।घनश्याम परिश्रमी तर्क गर्नुहुन्छ । सरकारले लुम्बिनीमा विश्वका पर्यटकलाई आकर्षित गर्ने ध्ययले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको थियो । अहिले पर्यटन दूरदृष्टि २०/२० चलिरहेको छ । कोषले पनि विभिन्न गतिविधि अगाडि बढाएको छ तर पनि तेस्रो मुलुकका पर्यटकको आगमनमा कमी आएको छ । -कमल रायमाझी/ रासस