बिहिबार, बैशाख १३, २०८१

कहाँ छ, गण कहाँ छ, तन्त्र ?

 लोकतन्त्रमा विचलितहरुको भीडमात्रै 

राजन कार्की
प्रचण्डले कहिल्यै दौरा सुरुवाल, कोटमाथि टोपी लगाएनन् । उनी सुटेड बुटेड कम्युनिष्ट हुन्, टाइमाथि टोपी लगाउँछन् । उनको लवाइ, खवाइ, हिडाइ र बोलाइ देख्ने आमनागरिक अचम्म मान्छन् । उनलाई कुम हल्लाउनै पर्ने, मने मने भन्नैपर्ने, खान्की राजर्षी नै चाहिने, लवाई टाइसुटमाथि टोपी । ऐतिहासिक नेता प्रचण्ड, दुईपल्ट प्रधानमन्त्री भइसके, तेश्रो पल्ट प्रधानमन्त्री बन्ने कसरतमा जुटेका छन् ।
प्रश्न को कति पटक प्रधानमन्त्री भयो भन्ने रहेन । प्रश्न जनआन्दोलनले यति ठूलो परिवर्तन ल्यायो, राजसंस्था र हिन्दुधर्म फाल्यो भन्ने पनि रहेन । प्रश्न नेतामा नैतिकता बा“की छ कि छैन, देशभक्ति कति छ, जनताप्रतिको जिम्मेवारी बोध र निर्वहन गरेको छ कि छैन भन्ने हो । देशमाथि आन्तरिक र बाह्य रुपमा जतिसुकै घात र हस्तक्षेप भए पनि पटक्कै जिब्रो नचलाउने नेताका कारण राजनीति व्यापार हुनपुगेको छ । राजनीति व्यापार भएपछि जो सत्ताधारी भए के नभए के ? आखिर देश र जनता दुईधारे तरवारकै सिकार हुने न हो ।

राष्ट्रिय परिवेश बुझ्नु, राष्ट्रको भेषमा गर्व गर्नु, राष्ट्रियतामा तलमाथि हुन नदिनु र लोकतान्त्रिक गरिमा र महिमामा अविचल हुनसक्नुपथ्र्यो । प्रचण्ड, ओली अथवा देउवा यी तीन तत्व छन्, तिनै तत्व विचलित, विश्रृंखलित र विचारहीन छन् । रह्यो मधेशवादी दलहरुको सवाल । उनीहरु त जसरी पनि मधेश टुक्य्राउने एकसूत्रीय अभियनमा लागेका छन् । त्यसैले संविधानअनुसार शासन गर्छन्, सांसद भएका छन्, संविधानमा आगो झोस्छन्, नेपाल बहुल र���ष्ट्रवादी मुलुक हो भन्छन्, सीके राउतजस्ता मधेश अलग देश भन्नेसँग सहकार्य गर्छन् । भारत त्यही चाहिरहेको छ, यता त्यही भइरहेको छ र संविधानको रक्षक, संरक्षक भनिने मुख्य दल, तिनका माउतेहरु घाइते अवस्थामा मौन बसिरहेका छन् । तैपनि यिनीहरु लोकतान्त्रिक गणतन्त्रको झ्याली पिछ्न छाड्दैनन् । लोक कहाँ छ, गण कहाँ छ, तन्त्र भारतको जन्तरमन्तरमा छ कि भारतीय दूतावासभित्र बन्दी छ, छुट्याउन सकिन्न । यसकारण राष्ट्रियतामाथिको, जनजिविकामाथिको बढ्दो हमलाको प्रतिवाद शून्य छ ।

फिदिमको दीपज्योति स्कूलमा दौरा सुरुवाल र टोपी, गुन्यूचोलो स्कूल ड्रेस बनेको छ । स्कूल ड्रेसकै कारण त्यो स्कूल नेपालभरि आकर्षणको केन्द्र रहेको छ । राजनीतिमा राष्ट्रप्रतिको सोचमा, लवाई खवाइमा, रहनसहनमा, विधिव्यवहारमा त्यस्तो नेकहिले देख्न पाइएला ? नेपालीत्वमा खिया लाग्नुमा नेपाली नेताहरुको ख्यालठट्टा जिम्मेवार छ । अन्यथा नेपालको संस्कृति र परम्परा यति धनी छ कि विश्व समुदाय लालायित हुनेगरेका अनेक उदाहरण छन् । राजनीति बाइफाला बन्दै गएको छ । वीरका गाथा इतिहासमा सिमित रह्यो । जनयुद्ध, जनआन्दोलनका घटना रोमाञ्चक कथामात्र रहे । इतिहासका घटनाक्रमलाई घोडा चढेर केही प्रभावशाली नेताहरु सत्ता र शक्तिको कमोत गर्न चाहनु भनेको सेक्सपियरको नाटकमा ब्रुटालिटी हुनुजस्तै हो । हाम्रो लोकतान्त्रिक राजनीतिक फाँटमा राजनेता बन्नुपर्ने व्यक्तिहरु जनचाहना, जनइच्छा, राष्ट्र र राष्ट्रिय एकताका लागि ब्रुटसको ब्रुटालिटी बनिरहेका छन् । नेता फालाफाल जहुनु तर एकजना पनि राजनेता जन्मन नसक्नु भनेको राजनीतिकै दुर्भाग्य हो ।

राजनीतिले इमान र नैतिक पाठ पठाउन सकेको भए राजनेता जन्मने थियो । सिकाएको पाठ भनेको दूराचार, विभेद, भ्रष्टाचार, अनैतिकतामात्र छ अनि कसरी राजनेता जन्मन्छ ? बीउ अर्थात सिस्नाको घारी रोपेर दूवो उम्रदैन । देउवा गएर के भो ? प्रचण्ड आएर के भो, ओलीले भाषणको गोली छाडेरै के भो ? देउवाको उदयकालमा समाजवाद तिखारिएन । गाईको पूजा गर्ने राप्रपाको प्रभावपूर्ण बिरोध नहुँदा गाई काटेर खान पाउनुपर्छ भन्ने पद्मरत्न तुलाधरहरुका आवाज ठूलै हुँदै गएको छ । संसदबाट जनतन्त्र स्थापित गर्ने माओवादी र एमालेको नयाँ रसायनको उत्पादन सुरुमा अचम्म थियो, अहिले आएर पानी पानी देखिन्छ । राजनीति शास्त्रमा यस्तै अनपेक्षित रसायनशास्त्रको श्रृंखला जारी छ, अर्को श्रृंखलाले जन्म लियो भने आश्चर्य नमाने हुन्छ । राजनीति निरन्तर चलिरहेको छ । जो जेल जानुपथ्र्यो, ऊ सत्तामा पुग्छ, जो सत्तामा पुग्नुपथ्र्यो, ऊ धुलिसात भइरहेको देखिन्छ यिनले नयाँ नेपाल कसरी बनाउलान् ? जनताले समृद्धि र सुशासनका लागि बहुमत दिए, बहुमत बलाएर छुट्टी छ । सच्चा बोल्ने चित्रबहादुर र कच्चा बोल्ने महन्थ ठाकुर जब एउटै डालोमा अटाउँछन् र एउटा नेपालमा मधेस गन्छ र अर्को मधेस अलग देश भन्छ, एउटा संघीयता चल्दैन भन्छ, अर्को संघीयता नभइहुन्न भन्छ, यिनीहरु न बिधिमा बस्छन्, न राष्ट्रमा विधिको शासन चलाउँछन् ।

हाम्रा ठूला राजनीतिक दलहरुलाई सडकदेखि संसदसम्म, सिंहदरवारदेखि सर्वोच्च अदालतसम्म जताततै राजनीति फलाउनु फुलाउनु छ । राजनीतिकरण गर्नसके महारथ प्राप्त हुने यिनको धारणा कति गलत छ भने नेपालबाट समानता, समानुपातिक, न्याय र कानुन व्यवस्थासमेत ध्वस्त नष्ट हुनथालेको छ । जता हे¥यो उतै राजनीति, राजनीतिक भ्रष्टाचार । अनियमितताको हा“गो समातेपछि जे पनि सम्भव हुने तन्त्र लोकतन्त्र बनेको छ । विकृतिले हद नाघ्यो । सुकीर्ति देख्न पाइएन । आज पनि ठूला दलहरु दिग्भ्रमित छन् अथवा राजनीतिक स्वार्थप्रेरित भएर थाहा नभएजस्तो गर्छन– जात, गुट, क्षेत्र, भाषाको वकालत गरिरहेका छन् । अहिले एकाएक नेपाललाई अल्पमतमा पार्नेगरी विदेशीलाई नागरिकता खुला गर्ने संशोधन बिधेयक संसद पुगेको छ । आमजनता, विज्ञहरु सडकमा छन्, हुन्न भनिरहेका छन्, ओली झन शक्तिशाली हुनका लागि नागरिकता विधेयकमा आत्महत्या गर्न तैयार भएको खबर सार्वजनिक भइरहेको छ । यो कस्तो लोकतन्त्र हो ? एक त अखण्ड नेपाललाई खण्ड खण्ड पारिदैछ, त्यसमाथि नेपालीत्वको बिखण्डीकरणको जग खनिदैछ । अव त खुलेआम मधेस देश भन्न थालिएको छ । नागरिकता विधेयक पारित भएपछि के मात्र नहोला ?

राष्ट्रसंघका १ सय ९२ सदस्यमध्ये २८ राष्ट्रमा संघीयता छ, तिनमा कति सफल, कति असफल त्यसको पनि लेखाजोखा गरिएन र नेपाललाई संघीयतामा लगियो । सानो देश, १ सय २६ जातिको देशमा संघीयताले जुन तिक्तता बढाएको छ, यसबाट नेपालको सबैभन्दा बलियो शक्ति नेपाली एकता खण्डित हुनपुगेको छ । राजनीतिक दलहरुलाई अझै हेक्का छैन, असफल भइसकेपछि पनि पन्चर भएको गाडी घिसारेझैं यही संघीयता संविधान कार्यान्वयनका नाममा घिसारिरहेका छन् । राष्ट्रलाई स्वावलम्बी, सक्षम र आत्मनिर्भर बनाउन छाडेर परावलम्बी, परजीवी बनाइरहेका छन् । नेताको, व्यक्तिको, तिनका परिवारको सम्पन्नतामात्र देशको विकास होइन भन्ने चेत फिर्ने कहिले ? आफूलाई लाभ भयो भन्दैमा त्यही लाभमा भुलिरहने ?

एउटा प्रसंग छ– २०२८ सालको । राजा महेन्द्रले मस्को भ्रमणमा गएका थिए । सोभियत राष्ट्रपति निकोलाई भी. पोदगोर्नीले रात्रिभोजमा रमाइलो गर्दै राजा महेन्द्रलाई सोधेछन्– नेपालको उत्तर र दक्षिणमा चीन–भारत जस्ता मोटामोटा छन् । सरकार त पातलो होइबक्सन्छ । राजा महेन्द्रले पनि हा“स्दै जवाफ दिएछन्– पातलो माहुतेले मोटामोटा हात्तीलाई तह लगाउ“छ । होइन र महामहिम ? तर आज उत्तर दक्षिणले नेपालको राजनीतिलाई तान्त्रिकले तह लगाएझैं उठबस गराइरहेछ र हाम्रा नेताहरु लम्पसारवादमा स्खलन भइरहेका छन् । भारत उत्तरी सुरक्षाकेन्द्र हिमाल भन्दै थियो, अव भारतले नेपाललाई छाता ओढाइदिएको छ । उत्तरले लिपुलेकबाट भारतसंग व्यापार गर्ने भनेर सम्झैेता ग-यो, ३ वर्षदेखि नेपालले चुँ बोल्न सकेको छैन । लोकतान्त्रिक नेपाल यसरी खुम्चियो ।

राजा महेन्द्र र वीरेन्द्रको कालखण्ड थियो, जतिबेला नेपालले के बोल्छ भनेर राष्ट्रसंघका सदस्यहरु कान ठाडो पारेर सुन्थे । राजतन्त्र किनारा लगाएको भारतले नेपाललाई सुन्नै नपर्ने मुलुकमा सा“घु¥याइदियो । नागरिक सर्वोच्चताको भाषण गरेर नथाक्नेहरु राष्ट्रको सर्वोच्चता यसरी विदेशमा बन्दकी राखेर आउँछन् र तिनै राजाहरुलाई गाली गरेर राजनीतिक स्वार्थ शिद्ध गरिरहेछन् । लोकतन्त्रमा लोकको सम्मान आर्जन गर्न नसक्ने कायरहरुको राज लोकले कहिलेसम्म सहिरहने ? हुन त कुनै बेला भद्रकाली मिश्र थिए जसले नेपालमा भारतीय सेना भित्र्याए । क्याविनेटमा राजदूत बस्थे, क्याविनेट सचिव भारतीय प्रतिनिधि हुन्थ्यो । ती दिन छिमोल्दै स्वतन्त्रताको महल बनाएको राजतन्त्रको निरंकूशता फाल्ने आवरणमा राजतन्त्र नै फाल्नेहरुले अव मुलुकै फाल्छन् कि भन्ने त्रासदी फैलिन थाल्यो ।

एक युवाको कथन छ– राणा शासन र लोकशासनमा के भिन्नता आयो र खोई ? नेता र तिनका आसेपासेलाई रमाइलो, अरुलाई दुःखपीडा, डाहा छटपटी । विकारै विकार भरिएको गिदी भएकाहरु शासनमा पुग्ने रहेछन्, बाँकी जनताको शोषणमा जुट्ने रहेछन् । यस्तो बेहाल, बेथिति त राणाशासनमा पनि थिएन, जो अहिले सर्वत्र व्याप्त भएको छ । यति हुँदा पनि नेताहरु लोकतन्त्रको गीत गाएर थाक्दैनन् । जनता त्यही गीत सुनिरहेका छन् । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।