शुक्रबार, चैत्र १६, २०८०

कनकाई सुरुङ्गा प्रेस क्लबमा पुनः निरौला

सुरुङ्गा वैशाख ३० , कनकाई सुरुङ्गा प्रेस क्लबको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।  दुई वर्षका लागि सर्वसम्मत गठन भएको ११ सदस्यीय समितिको अध्यक्षमा रामप्रसाद निरौलालाई पुनः चयन गरिएको छ । समितिको उपाध्यक्षद्वयमा सावित्रा दाहाल र संगीता उप्रेती, सचिवमा मनोज बस्नेत, सहसचिवमा सूर्यप्रसाद अधिकारी र कोषाध्यक्षमा चूडामणि तिम्सिना चयन भएका छन् ।

सदस्यहरुमा डिल्लीराम घोर्साईं, सुष्मा कुमाल, चन्द्र बस्नेत, अमृत योङहाङ र अनुप भण्डारी रहेका छन् । त्यसै गरी साधारणसभाले कनकाई सुरुङ्गा प्रेस क्लबको अक्षयकोष व्यवस्थापन समितिको संयोजकमा क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेललाई चयन गरेको छ भने अन्य सदस्य पछि थप गरिने जनाइएको छ ।

क्लबको संरक्षकमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष निरौलाले जानकारी दिएका छन् । साधारण सभामा अध्यक्ष निरौलाले भावि योजना सहितको क्लवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लबका सल्लाहकारहरु कोमलप्रसाद पोखरेल, हिराकुमार थापा, रुद्रप्रसाद चिमरिया, एकराज गिरी, आशा शर्मा शिवाकोटी, कुमारमणि पोखरेल, जनार्दन उप्रेती, प्रकाश चुडाल र हिम्मत नेम्बाङलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्यारागन एकाडेमी सुरुङ्गा व्यवस्थापन समितिका अध्यक्ष चम्पा सुबेदीलाई क्लबको अक्षयकोषमा ५ हजार ५ सय सहयोग गरेकोमा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमकी विशेष अतिथि कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाईले क्लबको अक्षयकोषका लागि ११ हजार रुपैयाँ सहयोग गर्ने वचन दिएकी छन् । समाज रुपान्तरणमा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै कार्यक्रमका अधिकांश वक्ताहरुले निस्पक्ष रुपमा निडर भएर कलम चलाउँन सम्पूर्ण संचारकर्मीहरुलाई आह्वान गरेका छन् ।

क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् झापा क्षेत्र नं। ४ का प्रदेशसभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, कनकाई नगरपालिका वार्ड नं। ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली, सम्मानित व्यक्तित्व चम्पा सुबेदी, राप्रपा नगर अध्यक्ष ज्योतिकुमार उप्रेती, मानवअधिकारकर्मी सूर्य उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका  थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।