बुधबार, बैशाख १२, २०८१

इराकमा अपहरित पाँच नेपाली मुक्त

काठमाडौ आषाढ ७, परराष्ट्र मन्त्रालयले इराकका विभिन्न स्थानमा अपहरणमा परेका पाँच नेपाली शुक्रबार मुक्त भएको पुष्टि गरेको छ। इराकी कट्टरपन्थी सुन्नी समूहको आक्रमणमा परी भाग्न सफल अन्य तीनजना र अपहरणमुक्त भएका पाँचसमेत गरी आठ नेपाली सुरक्षित स्थानमा रहेको परराष्ट्रले जनाएको छ।

pararastra‘भिन्दाभिन्दै घटनामा पाँच नेपाली अपहरणमा परी मुक्त भएका छन्। एउटा आक्रमणमा परेका तीनजना भने सकुशल भाग्न सफल भएको र अहिले सबैजना सुरक्षित स्थानमा रहेको जानकारी प्राप्त भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धिताललाई उदृत गर्दै आजको नागरिकदैनिकमा समाचार प्रकाशित रहेको छ ।

धितालका अनुसार टिक्रिकबाट चार र क्रिकुकबाट एक नेपाली छुट्टाछुट्टै अपहरणमा परेका थिए। क्रिकुक सहरकै एक राजनीतिज्ञको घरमा विद्रोही समूहले आक्रमण गर्दा भाग्न सफल तीन नेपाली पनि सकुशल रहेको उनले बताए। अपहरणमुक्त भएका र आक्रमणबाट भागेर सुरक्षित स्थानमा रहेका नेपाली कामदारको नाम भने सुरक्षाका कारण नखुलाइएको समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै विद्रोही समूहले चार नेपालीसहित ४८ जना विदेशी मजदुरलाई टिक्रिट सहरबाट अपहरण गरेको चार दिनपछि छाडेको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनबाट बताए। पाकिस्तानस्थित नेपाली दूतावासलाई इराकसमेत हेर्ने जिम्मेवारी छ।

‘टिक्रिटबाट अपहरणमा परेका चार नेपाली शुक्रबार अपहरणमुक्त भएका छन्,’ राजदूत पौड्यालले भने, ‘उनीहरू सबै सकुशल छन्, छिट्टै नेपाल फर्कन्छन्।’ अपहरणमुक्त भएकाहरूसँग आफ्नो कुराकानी भइसकेको उनले जनाए।

टिक्रिट सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारलाई अपहरण गरी बन्धक बनाइएको थियो। क्रिकुक र टिक्रिटबीच चेक प्वाइन्टमा उनीहरूलाई अपहरणकारीले हस्तान्तरण गरेका थिए।

अपहरणमुक्त भएकाबाहेक हालसम्म अन्य नेपाली अप्ठेरोमा परेको जानकारी दूतावासले प्राप्त नगरेको राजदूत पौड्यालले बताए। ‘हामी निरन्तर नेपालीको अवस्थाबारे बुझिरहेका छौं। कोही पनि नेपाली अप्ठेरोमा परेको जानकारी आएको छैन,’ उनले भने।

उत्तरी इराकमा इस्लामिक कट्टरपन्थी सुन्नी समूहले ‘इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया’ माग गर्दै युद्ध सुरु गरेको छ। आइएसआइएसले इराकी सेनाको अड्डामा आक्रमण गरिरहेको छ भने उत्तरी भागका केही सहर कब्जामा लिइसकेको छ। विद्रोही समूह राजधानी बग्दादबाट ६० किलोमिटर मात्र टाढा रहेको समाचार एजेन्सीहरूले जनाएका छन्।

इराकमा द्वन्द्व चर्कंदै गएपछि परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका आफ्ना परिवारका सदस्य, इष्टमित्र तथा साथीभाइ भएका सर्वसाधारण नेपालीले उनीहरूबारे सूचना दिन शुक्रबार निःशुल्क टेलिफोन नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको निःशुल्क टेलिफोन नम्बर १६६०–०१–००१८६ हो। यो नम्बर बिहान ८ देखि साँझ ८ बजेसम्म खुला रहने परराष्ट्रले जनाएको छ। सरकारले वैदेशिक रोजगारका लागि अवैधानिक इराकमा रहेका नेपालीलाई स्वदेश फर्कनसमेत आग्रह गरेको छ। आवश्यक परे उद्धार गरिने जनाएको छ।