शनिबार, बैशाख ८, २०८१

आज घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाईदै

काठमाडौं साउन ३१,  आज नागपञ्चमी प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँने गरिन्छ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने धार्मिक विस्वास रहिआएको छ । त्यस्तै अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा मेघ, अग्नी र नागको भय नहुने जनविश्वास छ ।

नागपञ्चमीका दिन यस दिन पशुपतिको वासुकी, नागपोखरी, टौदह, पनौतीलगायतका स्थानमा मेला लाग्ने गर्दछ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा बिभिन्न किसिमका किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा प्रख्यात किंबदन्ती यस्तो छ – एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानदेखि क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर किसानका श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी “मलाई नमार्नुस्, म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु” भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिइन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले “तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग” भनेपछि किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनबिश्वास रहिआएको छ ।

 Published on: Aug 16, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।