शुक्रबार, चैत्र १६, २०८०

अस्ताउँदो सुर्यलाई अर्घ दिदै छठ पर्वको मुख्य पूजा धुमधामका साथ मनाइयो

काठमाडौं कार्तिक ९, आज छठ पर्वको तेस्रो दिन राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइएको छ । छठपर्वको अवसरमा राजधानीको टङकेश्वर, गुहेश्वरी, गहनापोखरी, कमलपोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपुरको हनुमानघाट लगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको साँझ भिड लागेको थियो ।  आजको दिन छठमातालाइ वर्तालुहरुले नियमनिष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री सूर्यदेवलाई दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ । त्यस्तै भोली प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवतरुपमा यो पर्व सम्पन्न गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख रहेको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।