बुधबार, कार्तिक २८, २०७५
ताजा विचार

जनयुद्ध र जनआन्दोलनको डाइनामाइट

– राजन कार्की-
 डाइनामाइट आविस्कारकले साहित्यमा नोबल पुरस्कार राखेका हुन् । यसको अर्थ बिनासकारी आविस्कार मानवीय मूल्य र मान्यताका लागि हो । मान्छेले मान्छेको मासु खाँदैन ? मानव सभ्यताको बिनष्टकारी बिध्वंश नहोस् भनेर मनाही गरिएको हो । यद्यपि तान्त्रिक, कालविद्या आर्जान गर्न चाहनेहरु आधारातमा चिहानमा गएर साधना गर्छन्, मान्छेको मासु पनि खान्छन् र तिनलाई अघोरीबाबा भनिन्छ । तिनमा शक्ति नहुादो हो त सर्वाङ नाङ्गै र रुखमा बस्ने खडेबाबालाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी कुनै पनि संकटको निदान खोज्न उनैलाई भेट्न जान्थिन् । तर खडेबाबा र गान्धी दुबैको मृत्यु असामान्य तरिकाले भएको हो । भनिन्छ, जो इन्द्रजाल खेल्छ, ऊ, तन्त्रमन्त्रको शक्तिको दावा गर्छ, उसको मृत्यु असामान्य हुन्छ । नक्साल चउरका मालिक साम्राज्य शमशेर राणाजी तन्त्रमन्त्रमा यसरी लीन भएका थिए कि उनको मृत्यु असामान्य तरिकाले भयो र आज पनि नक्साले राणाजीहरुमा उनलाई पानी बौलाह भनेर पुरानो कुराको चर्चा गर्ने गर्छन् ।
नेपालको राजनीतिमा पञ्चायत फोहरको डङ्गूर हो, एकतन्त्रीय शाही शासन हो भनेर यति ठूलो आन्दोलन भयो कि ०३७ सालको जनमत संग्रहले नसकेर ०४६ साल कुर्नुपर्‍यो र राजाले जनताका सामु झुकेर दलमाथिको प्रतिवन्ध फुकुवा गर्नुपर्‍यो ।अव त ३० वर्षे पञ्चायतले थुपारेको फोहर सफा होला भनेर आतिसवाजी गरेर खुशीयाली मनाइयो । तर बहुदलीय १२ वर्षे शासन कूशासन भएर आयो । ३० वर्षमा पञ्चायतले गरेको फोहरभन्दा धेरै गुण बढी फोहर सिर्जना हुनगयो । राष्ट्रिय उद्योगहरु निजीकरण गरेर पचासौं हजारलाई बेरोजगार बनाइयो । धेरैको चुलोचौको चिसो हुनपुग्यो, धेरैको घरव्यवहार बिल्लिबाठ भयो । लाउडादेखि महाकालीसम्मका काण्डहरु भए, कमिशन र भ्रष्टाचारबाहेक बहुदलीय शासनमा प्रशंसा गर्नुपर्ने केही कुरै रहेन । सांसद खरिद विक्री, सांसदलाई थाइलेण्डमा मसाज गराउन पठाउनसम्मका निर्घिणी काण्डहरु गर्ने नेताहरु आज पनि नेता नै छन्, आज पनि शक्ति, सत्तामै छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए, उनैले चाँदीको किस्तीमा सत्ताको साँचो राखेर धारा १२७ अनुसार राजालाई बुझाएका हुन् । राजाले ३ वर्षमा चुनाव गराएर जनप्रतिनिधिलाई शासन सुम्पिन्छु भन्ने कबुल गरे । यो कुरा तत्कालीन सात दललाई मन परेन, ठूलो कुरा भारतलाई मन परेन र तत्कालीन जनयुद्धकारी माओवादीलाई दिल्लीमा १२ बुँदे सहमति गराएर नेपालको जनआन्दोलनमा सरिक हुन निर्देशन गरेकै हो । माओवादी मिसिएपछि १९ दिने जनआन्दोलनमा २१ जना मारिए र जनविद्रोहको त्यो बाढी राजाले थाम्न सकेनन् र २०६३ साल वैशाख ११ गते मरेको संसद राजाले ब्यूँताइदिएका हुन् । त्यो कति ठूलो राजनीतिक फोहरको थुप्रो थियो । परिवर्तन भयो, मुलुक र मुलुकको शासन व्यवस्था सफा हुने सपना देखाइयो । जनयुद्धकारी माओवादी सतहमा आयो, सरकारमा गयो र आतंकको फोहर सफा गरेर शान्ति ल्याउने कबुल गरियो । नेपालको यो समाचार विश्व समाचार बन्यो । विश्वको ध्यान नेपालको राजनीतिक सफाइ यात्रातिर तानियो । र, यो व्यवस्थालाई बहुदलीय प्रजातन्त्रबाट लोकतन्त्र भनियो । पहिलो काम राजाको अधिकार खोसियो, दोश्रो काम हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष भनियो । तेश्रो काम अन्तरिम संविधान जारी गरेर पहिलो संविधानसभाको चुनाव भयो । यही संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरेर राजतन्त्रको अन्त्य गरिएको हो । तर यो संविधानसभाले संविधान जारी गर्न सकेन, माओवादी प्रधानमन्त्री डा.बाबुराम
भट्टराईले नै संविधानसभा बिघटन गर्न बाध्य भए । त्यसपछि दोस्रो संविधानसभाको निर्वाचन भयो र बल्ल बल्ल २०६३ को परिवर्तन २०७२ साल असोज ३ गते संविधान जारी गरेर एउटा बाटो लिन सफल भयो । यो संविधानअन्तर्गत स्थानीय, प्रदेश, राष्ट्रियसभा र संघीय संसदको निर्वाचन सम्पन्न भयो । यी निर्वाचन कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले सफलतापूर्वक सम्पन्न गरे तर माओवादी र एमालेको गठबन्धनले कांग्रेसलाई ह्वाइटवास जस्तै अवस्थामा पुर्‍याइदियो ।  निर्वाचित सरकारका रुपमा एमालेका केपी ओली प्रधानमन्त्री भए । त्यसपछ माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनाएका छन् र नेकपाले देशको कमाण्ड लिएर सत्ता सञ्चालन गरेको अवस्था छ । यहाँसम्म आइपुग्दा, राजनीतिमा फोहरबाहेक केही देखिएन । सांसद किनबेच भए, चुनावमा टिकट लिलाम गरियो । घूस ख्वाउने राजदूत बने, संवैधानिक अंग प्रमुखदेखि अदालतका न्यायाधीश पनि बन्न सफल भए । पियन अर्थात सहायकदेखि सचिव, मुख्य सचिवसम्मका पदहरुमा राजनीतिकरण गरियो । राजनीतिक प्रभाव नभएको र बिधिले चलेको कुनै पनि निकाय छैन । मानौं मुलुक फोहरको कन्टेनर हो । लोकतान्त्रिक गणतन्त्रको बोर्ड झुण्ड्याएर अलोकतान्त्रिक क्रियाकर्म भइरहे ।
अव त स्थिर सरकार आयो, अव त फोहर सफा होला, विधिको शासन चल्ने छ । बिधिभन्दा बाहिर जो जान्छ, ऊ दण्डित हुनेछ भन्ने एउटा विश्वास पलाएको थियो । प्रधानमन्त्री बनेका केपी ओलीले भनेकै हुन्– जो भ्रष्ट छ, उसलाई टपाटप टिपेर फाल्ने हो । अधिनायकवादको कल्पना नगरौं, सुशासन र समृद्धि एकमात्र लक्ष्य हो । त्यो लक्ष्य प्राप्त गनै कटिवद्ध छु । तिनै केपी ओलीले जेलका अपराधीलाई सज्जन भनेर राष्ट्रपतिमार्फत छुटाए । तिनै केपी ओलीले भ्रष्ट तत्वहरुलाई संरक्षण दिए ।
माओवादीहरु भन्छन्– अव जनयुद्धका सबै मुद्दाहरु आममाफी हुनेछ । आममाफी नै किन ? फौजदारी मुद्दामा पीडकलाई दण्ड र पीडितलाई न्याय नदिदा अन्तर्राष्ट्रिय अधिकारकर्मीहरुले के भन्लान् ? कसैले हेगमा मुद्दा ठोकिदियो भने नेपालको स्थिति हस्तक्षेपको भूमरीमा पर्ला कि नपार्ला ? जीवन नै न्याय पाउा भनेर गंगामाया अधिकारी अहिले पनि अस्पतालमा अनसन बसिरहेकी छिन् । उनको छोरालाई मार्ने आरोपित १३ मध्ये १२ जनालाई चितवन अदालतले बरी गरिदियो र ती बुढीआमा गंगामाया भन्छिन्– यो देशमा न्याय पाउँ भन्नु बेकार रहेछ । यी सबै फोहर हुन् । फोहरको थुप्रो । शुद्धिकरण कहिले सुरु गर्ने ? कहाँबाट, कसले सुरु गर्ने ? कालो बादल छ, चाँदीको घेरा छैन ।
नेपालमा को छैनन् ? नेपाली बैज्ञानिक नासासम्म पुगिसके । प्राविधिकदेखि समाजशास्त्रीसम्म प्रशस्त छन् । संचेतनाको व्यापक विकास भएको छ । स्कूल, कलेज, प्राविधिक शिक्षा अब्बल छ । यतिसम्म प्रगतिमा पुगिसकेको मुलुकमा राजनीतिक असभ्यताको बिकृति । सुधार्ने राजनीतिले हो । राजनीति सुधार्ने जनताले हो । पढेलेखेका बुद्धिजीवीहरु राजनीतिक पार्टीमा विभक्त हुँदा यथार्थ आलोचना र सुझाव आउन सकेन । जतिसुकै गलत क्रियाकलाप पनि पाच्य हुादै गएको छ । यही रोग महारोग बन्दा राष्ट्र फोहरको थुप्रो बन्न पुगेको हो । नैतिक पतनको यो श्रृंखला रोकिएन भने फलाम खिया लागेर धुलोमाटो बनेझैं राष्ट्रलाई राजनीतिक खियाले धुलोपिठो बनाउने निश्चित छ । राजनीतिमा देवताको पोसाक राजनीतिक नेताहरुले लगाउने र तिनै नेताहरुको झुण्ड झुण्डमा संचेतन, बुद्धिजीवीहरु लागिरहने हो भने आफ्नो घुाडामा आफैले बन्चरो हान्नु हो । जसरी त्रिभुवन विश्वविद्यालय राजनीतिक धमिराहरु धरमराइरहेका छन्, त्यसैगरी राष्ट्र अक्कलबिनाको नक्कलले अस्तित्वहीन बन्दैजानेछ । राजनीतिबाट कल्याणको कामना गर्नेहरुले पहिले राजनीतिलाई पवित्र पार्न जरुरी छ । अन्यथा अरुका सन्तान बिग्रे भनेर दङ्ग नपरौं, तिम्रा सन्तान पनि यही दुषित पानीले फोहरी नै हुनेछन् ।
राष्ट्रको फोहर सफा गर्नैपर्छ, तवमात्र नेपाल र नेपाली सफा हुनेछन् । विद्या नभएका विद्या सुन्दरले काठमाडौं महानगरलाई फोहरमाण्डौं बनाए बनाए, निष्ठा नभएका पार्टीहरुले राष्ट्रलाई फोहर नेपाल बनाउने छन् । सबैलाई चेतना होस्, सबै राजनीतिक फोहर सफा गर्न अग्रसर हौं । अव देश फोहरमाथि उभिएर सुशासन र समृद्धिमा पुग्न सक्दैन । फाहेरमाथि देश उभिनु र बारुदमाथि ओलीका सपना उस्तै हो । जनयुद्ध र जनआन्दोलनको डाइनामाइट हामीले भोग्यौं । डाइनामाइटका आविस्कारकले नोबल पुरस्कार स्थापना गरेजस्तै, यो पद्धतिले सफा नेपाल निर्माण स्थापित गरोस् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2018
S M T W T F S
« Oct    
 123
45678910
11121314151617
18192021222324
252627282930